

प्रहरीकै संलग्नतामा लुटपाट, हवल्दार पक्राउ

काठमाडौं – काठमाडौं लैनचौरस्थित ब्याडमिन्टन कोर्ट नजिकैको एक खाजाघर बाट ८ जेठमा केही मानिस तछाडमछाड गर्दै भागे । सात आठ जनाको अस्वभाविक समूह त्यसरी भागेको देखेर स्थानीय बासीसमेत चकित परे ।
साे समूह एकै छिनमा मोटरसाइकल चढेर लैनचौरबाट सोह्रखुट्टे क्षेत्र हानियाे । तर, एक जना युवा त्यहीँ चुपचाप बसिरहे । उनी पीडित पोखरा लेखनाथका युवा भएकाे प्रहरीकाे भनाइ छ । मोटरसाइलमा भाग्ने समूहले उनको साथबाट ३५ लाख रुपैयाँ लुटापाट गरेकाे थियाे ।
यसरी उनलाई लुटपाट गर्ने गिरोहका सदस्यमध्ये केही प्रहरी नै भएको खुलेको छ । प्रहरी स्रोतका अनुसार बजारभन्दा सस्तो मूल्यमा सुन उपलब्ध गराइदिने भन्दै लुटेरा समूहले पीडितलाई लैनचौर बोलाएर लुटेका थिए । घटनाबारे अझैँ अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।
‘लैनचौरको खाजाघरमा बोलाएर उनलाई सुन होइन उनले सुन किन्न बोकेको ३५ लाख रुपैयाँ नै लुटेर भागेको भन्ने छ । तर, ३५ लाखको स्रोत खुलेको छैन । हामीले सुरुमा झगडा भएको भन्ने आधारमा अनुसन्धान गरेका हौँ । दुई जना नियन्त्रणमा लिएका छौं,’ एसपी मैनालीले भने ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार त्यसरी लुटपाटमा एकजना प्रहरी हवल्दार, एक जना प्रहरी जवान, एक जना अवकाश प्राप्त प्रहरी रहेको खुलेको छ । फरार सबैको पहिचान भएको प्रहरीको दाबी छ । नियन्त्रणमा लिएका प्रहरी हवल्दारको नाम पनि प्रहरीले सार्वजनिक भने गरेको छैन । प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने हवाल्दार प्रहरी वृत्त कमलपोखरीमा कार्यारत छन् ।
त्यस्तै अर्का फरार प्रहरी जवान प्रहरी संगीत विद्यालय महाराजगञ्जमा कार्यरत रहेको खुलेको छ । घटनामा संलग्न मूख्य अभियुक्तसहित चार जना अझैँ फारर रहेका छन् । उनीहरूको खोजी कार्य तीव्र रहेको प्रहरीले जनाएको छ ।

