पाेखरा १८ मा पुनः मत गणनाकाे मागसहित अदालतमा मुद्दा


कास्की – पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा तीन मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् । थापाले चुनावमा खसेको मत भन्दा ९ मत कम गणना भएको भन्दै त्यसको खोजी गरिदिन उच्च अदालत पाेखरामा मुद्दा दर्ता गरेका हुन् ।

उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन् । यो वडामा नेपाली कांग्रेसका शिव तिमिल्सिनाले तीन मत अन्तरले चुनाव जितेका थिए ।

पाँच हजार आठ सय ४३ मतदाता रहेकामा चुनावमा चार हजार तीन सय ४८ मत खसेको थियो । गणनाका क्रममा चार हजार तीन सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै नाै मत गायब पारिएको थापाको आरोप छ ।

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा फेरि गणनाको मागसहित निवेदन दिएका थिए । तर फेरि गणना हुन सकेन। हार/जित स्वाभाविक भएकाे भन्दै उनले सत्य/तथ्य छानबिन गरेर फेरि मतगणनाको माग गरेका छन् ।

प्रतिक्रिया