लागूऔषधसहित १ भारतीय नागरिक पक्राउ


विरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका-१६ बाट प्रहरीले शुक्रवार विभिन्न प्रकारका लागूऔषध ८७३ एम्पुलसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार मोतीहारी थाना रामगढवा बेलाहा–१० घर भएका २२ वर्षीय असरफ अली रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

वीरगञ्जको रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा हातमा मोबिलको डिब्बा बोकी शंकास्पदरूपमा भारत, रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले लागू औषधसहित अलीलाई पक्राउ गरेको थियो ।

अलीको साथबाट भेटिएको मोबिलको डिब्बामा लागूऔषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको थियो । पक्राउ परेका अलीलाई लागूऔषध कसूरसम्बन्धी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया