
सिंहलाई आईजीपी नियुक्त गरिएकोमा कांग्रेस नेता शेखरको आपत्ति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको दवावमा मन्त्रिपरिषद्ले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको भन्दै कांग्रेस नेता डा. शेखर कोइरालाले गम्भीर आपत्ति प्रकट गरेका छन् ।
आइतबार दिँउसो बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिस भन्दै बरिष्ठताका आईजीपीका प्रतिष्पर्धी एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापालाई पछि पार्दै प्रहरी महानिरिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
बरिष्ठताको आधारमा विश्वराज पोखरेललाई आइजीपी नियुक्त गर्नुपर्नेमा देउवाले गृह मन्त्रालयको सिफारिसमा तेश्रो नम्बरमा परेका सिंहलाई बनाएपछि कांग्रेसकै नेताहरु विरोधमा उत्रिएका हुन् ।
‘सरकारले वरिष्ठता र प्रक्रिया मिचेर बिधिको शासनको खिल्ली उडाएको छ’, नेता डां शेखरले आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरी एकपटक विवादमा ल्याएको छ ।’
आईजीपीमा बढुवा गर्ने निर्णय भएका सिंहसँग विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने कसरतमा थिए ।
प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त ठानेका उम्मेवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने भनिएको छ । तर जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्य लगायतलाई आधार बनाएर निर्णय लिने भनिएको छ ।
मन्त्रिपरिषद् बैठकअघि गृह मन्त्रालयले बरिष्ठताको आधारमा भन्दै पोखरेलको नाम आईजीपीको लागि पठाएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले सो सिफारिसप्रति चित्त नबुझाई बरियतामा तेश्रो नम्वरमा रहेका सिंहलाई आईजीपी बनाउने निर्णय गरेका हुन् ।
बरिष्ठताको आधारमा पोखरेललाई नै आईजीपी बनाउनु पर्ने भन्दै कांग्रेस नेता डा. शेखर कोइराला, महामन्त्री गगन कुमार थापा, केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । शुरुमा पोखरेललाई नै आइजीपी बनाउनु पर्छ भन्ने पक्षमा गृहमन्त्री वालकृष्ण खाँड समेत रहेका थिए ।
मन्त्रिपरिषद्को निर्णय विरुद्ध सिंहभन्दा सिनियर पोखरेल र थापा अदालत जाने तयारीमा रहेका छन् । श्रोतका अनुसार उनीहरु अहिले कानुन व्यवसायीसँग छलफलमा रहेका छन् ।
२०७४ सालमा पनि उपेन्द्रकान्त आईजीपीबाट अवकास पाएपछि तत्कालिन प्रधानमन्त्री बनेका हालका प्रधानमन्त्री शेरबहादुर देउवाले जयबहादुर चन्दलाई आइजीपी नियुक्त गर्दा सर्वोच्च अदालतले रोखेको थियो । नवराज सिल्वालले चन्द आईजीपी बनाउने सरकारको निर्णयबिरुद्ध अदालत धाएपछि बिबाद बढ्दै जाँदा सरकारले प्रकाश अर्याललाई आइजीपी बनाएको थियो ।
त्यसबेला गृहमन्त्री कांग्रेसकै विमलेन्द्र निधि थिए भने अहिले कांग्रेसकै बालकृष्ण खाँड गृहमन्त्री छन् ।



कागजपत्र |
