
‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर रिलिज (भिडियो)
काठमाडौं – प्रतीक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर रिलिज भएको छ। १३ जेठमा रिलिज हुने फिल्मको कथा पछिल्लो ‘कबड्डी कबड्डी कबड्डी’ सकिएपछि सुरु गरिएको छ।
फिल्मको कथा काजीको विवाह र बमकाजीको भिलेन रूपमै केन्द्रित छ । काजी गाउँमै शिक्षिकासँग प्रेममा नजिक हुँदै गर्दा बमकाजीको आगमनले घटाउने घटनाक्रमलाई फिल्ममा देखाइएको छ।
निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्ममा काजीको भूमिकामा दयाहाङ राई, बमकाजीको भूमिकामा सौगात मल्ल र शिक्षिकाको भूमिकामा मिरुना मगर रहेकी छिन्। नेपाली फिल्मको हिट फ्रेन्चाइज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनिएको छ । यस शृंखलामा कथा सकाइने बताइएकाले गर्दा पनि फिल्म झनै प्रतीक्षित बनिरहेको छ ।
बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको फिल्ममा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ।
फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ।



कागजपत्र |
