वैशाख १५ गतेदेखि स्वदेशी उत्पादनको प्रर्वद्वनार्थ ‘फूटवेयर एक्सपो’


काठमाडौं – फूटवेयर्स म्यानुफ्याक्चर्स एसोसिएशनले वैशाख १५ गतेदेखि फूटवेर्स एक्सपो आयोजना गर्ने भएको छ।एसोसिएशनले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरेर जेठ ८ सम्म एक्सपो आयोजना गर्ने जानकारी दिएको हो।

स्वदेशी उत्पादनका बारेमा उपभोक्तालाई जानकारी दिने लक्ष्यसहित एक्सपोको आयोजना गर्न लागिएको जनाइको छ । यसैगरी, मेलामार्फत स्वदेशी उत्पादनको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा व्यवसायीहरुको छ ।

यसका साथै, विदेशी जुत्ता/चप्पलको आयात प्रतिस्थापन गरेर स्वदेशकै उत्पादनलाई बढवा दिने लक्ष्य समेत मेलाको रहनेछ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूख्य नारा मेलाको रहने बताइएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा १९ वटा फूटवेयर उद्योग सहभागी हुनेछन् । यी उद्योगले उत्पादन गर्ने जुत्ता/चप्पल मेलामा राखिनेछ । हाल नेपालमा करिब १५०० हाराहारीको संख्यामा जुत्ता÷चप्पल उद्योग छन् ।

यीमध्ये, अधिकांश साना तथा घरेलु उद्योगकारूपमा दर्ता छन् । नेपालमा खपत हुने कुल जुत्ता÷चप्पलको ६० प्रतिशत स्वदेशी उत्पादनले नै धान्दै आएको एसोसिएशनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

विगत ३ वर्ष देखि कोभिडको महामारीले आक्रान्त बनाएको बनाएको आर्थिक क्रियाकलापमा रसिया–युक्रेन युद्धले थप प्रभावित बनेको छ । यस्तो अवस्थामा कच्चा पदार्थको अभाव, ब्याजदर वृद्धि लगायतका समस्याले फूटवेयर उद्योग थप समस्यामा परेका छन् । यस्तो अवस्थामा खुला सिमाको दुरूपयोग गर्दै चोरी/पैठारी हुँदा थप समस्या उत्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया