स्वास्थ्योपचार गराइरहेका ६ खेलाडीलाई राखेपको आर्थिक सहयोग


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ।

मंगलबार कोषले ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो। नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान १ लाख २५ हजार रुपैयाँ प्रदान गरिएको हो।

भलिबलकी रिया कुँवरले ६३ हजार ९ सय २९, आईटीएफ तेक्वान्दोका दीपक गौतमले ८७ हजार ९ सय १४, करातेकी कोपिला विष्टले ७५ हजार र ब्याडमिन्टनकी सिमा राजवंशीले ८० हजार प्राप्त गरे। केसीलाई हातमा चोट, विष्णुलाई पक्षघात, रिया, सिमा र कोपिलालाई घोडामा चोट तथा दीपकलाई काँघको समस्या छ।

कोषका अध्यक्ष समेत रहेका राखेपका सदस्य-सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे। कोषका सदस्य-सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतका पदाधिकारीको उपस्थितिमा सहयोग वितरण गरिएको हो।

प्रतिक्रिया