पोखरा महानगरको मेयरमा ८ जनाको उम्मेदवारी दर्ता


कास्की – पोखरा महानगरपालिकाको नयाँ नेतृत्व लिन आज आइतवार आठ जनाले मेयरमा उम्मेदवारी दिएका छन् । दुई जनाले उपमेयरमा उम्मेदवारी दिएका छन् । त्यसैगरी वडाध्यक्ष र सदस्यमा गरी २५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

अटेरी अभियान चलाइरहेका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले पोखराको मेयरका लागि पहिलो मनाेनयन दर्ता गरे। यस्तै पोखराको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा-१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरे ।

त्यसैगरी मौलिक जरोकिलो पार्टीबाट एजल तिमिल्सिना, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमप्रसाद गुरुङ, स्वतन्त्रबाट रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोलाले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

उपमेयरमा सचेत नेपाली पार्टीकी सोनी परियार, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर तामाङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका २६ को वडाध्यक्षमा नारायणप्रसाद आचार्य, पोखरा ३ को वडाध्यक्षका लागि महेश उदास र पोखरा ३० काे वडाध्यक्षमा अनिष गुरुङले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

ठूला राजनीतिक पार्टीले भने उम्मेदवारकाे टुङ्गाे लगाउन नसकेपछि भाेलि साेमवार मात्रै उम्मेदवारी दर्ता जनाएका छन् । पोखरा महानगरपालिकामा दुई लाख सात हजार सात सय १२ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया