प्रेममा प्रहरी ज्यादतीः ‘एसपी थापालाई आत्महत्या दुरुत्साहन मुद्दा किन नलगाउने?’


सुनसरी– भोक्राहा–५ का मोहम्मद हकिम शाहले जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा आत्महत्या गरे। उक्त घटनापछि मृतकका आफन्तले आइतबार दिनभर सुनसरीमा सवारी अवरुद्ध पारे भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरे। झडप भयो, केही प्रहरीसहित १० जना घाइते पनि भए।

घटना साम्य पार्न कोसी गाउँपालिका प्रमुखसहित मुस्लिम अगुवाको पञ्चायती प्रशासनसँग भयो र एक सहमति बनेको छ। तर, घटना यतिमै साम्य हुने प्रकृतिको भनेचाहिँ छैन।

मृतक शाह र झन्डै ६ सय मिटरको दूरीमा घर भएका विष्णु शर्माकी छोरी रानी शर्माको लामो समयदेखि प्रेम चलेको थियो। उनीहरु उमेर पुग्नुअघि नै प्रेममा परेका थिए। जब कानुनतः बिहे गर्ने उमेर पुग्यो, दुई महिना अघिदेखि उनीहरू समाज र परिवारलाई छलेर नीजि जीवन बिताउने निर्णयमा भागेका थिए।

केटीका बुवा विष्णु सुनसरी सदरमुकाम इनरुवा–९का हार्डवेयर व्यापारी हुन्। आफ्नी छोरीको प्रेम मुस्लिम केटोसँग भएपछि छुटाउनका लागि विष्णुले पहिलो चरणमा गुन्डाहरू खटाएको बताइएको छ। एक स्थानीय भन्छन्,‘उनीहरू लामो समयदेखि प्रेममा थिए। उमेर नपुगेका कारण समाजसँग डराएका थिए जब उमेर पुग्यो भागी बिहे गर्ने निर्णयमा पुगेका थिए।’

विष्णुले प्रशासनमा उजुरी दिएपछि मृतक शाहलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवाहारको मुद्दा लगायो। सुनसरीका प्रहरी उपरिक्षक (एसपी) संजयसिंह थापाको ठाडो आदेशमा शाहलाई पक्राउ गरिएको थियो।

‘अभद्र व्यवाहार भन्ने मुद्दा कुन प्रकृतिमा लाग्ने हो? प्रेम गरेका जोडीसहित परिवारका सदस्य राखेर मिलापत्र अथवा अर्को विकल्प नखोजी शाहलाई मात्र किन थुनियो?’, स्थानीय प्रश्न गर्छन्। शाहलाई थुनेर प्रहरीले यातना दिएको थियो। एकातिर आफूलाई यातना दिइएको र अर्कातिर प्रेमिका रानीलाई उनका परिवारले नजरबन्दमा राखेपछि शाहले आत्महत्याको निर्णय लिएको हुनसक्ने बताइन्छ।

अधिकारकर्मीहरू भन्छन्,‘प्रहरीको गल्ती देखिन्छ। जब यो प्रकरण प्रहरीसमक्ष पुग्यो उसले मिलाउने र परिस्थितिलाई सहज बनाउनुपर्ने थियो। तर, विष्णु शर्माको प्रभावमा परी आत्महत्या गर्न बाध्य पारियो।’

आफूहरू असुरक्षित रहेको भन्ने विवरणसहित रानी शर्माले गुहार गरेको भिडिओ नै रहेको अवस्थामा प्रहरीले किन अन्याय गरेको हो? स्थानीयहरू प्रश्न गर्छन्। ति युवतीले भनेकी छन्,‘म असुरक्षित छु। प्रहरी प्रशासन, नेता, पेशेवर गुण्डा सबैलाई मेरो बुबाले किनिसकेको छ। हाम्रो ज्यान खतरामा छ।’

यति धेरै विवरण तथ्य हुँदा पनि सुनसरी प्रहरी प्रमुख एसपी थापाले एक पक्षीय हिसाबमा केटालाई थुनी मानसिक यातना त दिएका नै थिए, शारिरीक यातना समेत दिएका कारण आत्महत्या गरेको हुनसक्ने सर्वसाधारणको अनुमान छ। ‘सीसीटिभी फुटेजमा झुन्डिन गएको देखिन्छ, झुन्डिएको देखिँदैन’, एक अधिकारकर्मी भन्छन्,‘आत्महत्या नै भए पनि एसपीलाई दुरुत्साहन मुद्दा किन नलगाउने?’

स्थानीय अगुवाहरूका अनुसार प्रेमिका भनिएकी केटी चार महिनाकी गर्भवती पनि छन्। उक्त विषयलाई समेत दबाउने कोशिश भइरहेको छ।

प्रतिक्रिया