

लक्ष्मी बैंकको खुद नाफा ३३ प्रतिशतले घट्यो

काठमाडौं – लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र ईपीएस दुबै घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३०.१५ प्रतिशत घटेको छ ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ९१ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.५२ गुणा रहेको छ ।

