एलन मस्कलाई श्रीलंका खरीद गरी ‘सिलोन मस्क’ राख्न सुझाव


टेस्ला तथा स्पेस एक्स कम्पनीका सीईओ एलन मस्कलाई श्रीलंका खरीद गर्न सुझाव दिएइएको छ । स्नापडिल कम्पनीका सीईओले मस्कलाई आर्थिक संकटमा फसिरहेको मुलुक श्रीलंका खरीद गर्न  सुझाव दिएका हुन् ।

सीईओ कुणाल बहलले ट्वीटर खरीद गर्नुको साटो श्रीलंका खरीद गरेर आफ्नो नाम ‘सिलोन मस्क’ राख्न पनि मस्कलाई सुझाव दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्- ट्वीटर खरीद गर्न एलन मस्कको प्रस्ताव ४३ अर्ब डलर, श्रीलंकाको ऋण ४५ अर्ब डलर । उनले श्रीलंका खरीद गरेर आफूलाई सिलोन मस्क बनाउन सक्दछन् ।

मस्कले हालै सोसल मिडिया कम्पनी ट्वीटरको करीब १० प्रतिशत शेयर खरीद गरी कम्पनीको सबैभन्दा ठूलो शेयरहोल्डर बनेका छन् ।  त्यतिमात्र होइन मस्कले ४३ अर्ब डलरमा पूरै ट्वीटर कम्पनी नै खरीद गर्ने प्रस्ताव समेत गरेका छन् । मस्कको उक्त प्रस्तावका बारेमा ट्वीटरको बोर्डमा समेत छलफल भएको छ ।

ट्वीटरमा लगानी गरिसकेपछि आफूलाई हालको अवस्थामा ट्वीटर फस्टाउन नसक्ने र विद्यमान स्वरुपमा सामाजिक अनिवार्यतालाई पूरा गर्न समेत नसक्ने अनुभूति भएको भन्दै मस्कले ट्वीटरलाई एक निजी कम्पनीको रुपमा परिणत गर्नु आवश्यक रहेको बताएका छन् । मस्क २ खर्ब १९ अर्ब डलरका मालिक हुन् ।

प्रतिक्रिया