वर्षकाे अन्तिम दिन नेप्से ३० अंकले बढ्यो, नेस्डोको शेयर मूल्यमा सर्किट


काठमाडौं – यस वर्षकाे अन्तिम काराेबार दिन आज (बुधबार) सेयर धबार ३०.२४ अंकले बढेर नेप्से २४१५ अंकमा कायम भएको छ ।अघिल्ला दुई दिन दोहोरो अंकले घटेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार सुधार आएको छ हो ।  सोमबार ४४ र मंगलबार ३४ अंकले नेप्से झरेको थियो ।  निरन्तर घटेकाे बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।

आज  नेप्से १.२७ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.९७ अंकले बढेर ४५६.०९ विन्दुमा पुगेकाे छ । कूल २२९ वटा कम्पनीकाे ३३ लाख ९८ हजार ६ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड ६३ लाख १८ हजार एक सय ४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

यस दिन सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ६२, फाइनान्स १५, होटल तथा पर्यटन ४८, जलविद्युत २५, जीवन बीमा ९५, उत्पादन ६२, लघुवित्त १०१, निर्जीवन बीमा १२९, अन्य ४१ र ब्यापार उपसमूह १० अंकले बढेका छन् ।

कुल १६४ कम्पनीको मूल्य बढ्दा २५ को घटे भने ६ को स्थिर रहृयो । नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो भने आरएमडीसीको ९ प्रतिशतले बढ्यो । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ७.१९ प्रतिशतले, महिला लघुवित्त वित्तीय संस्थाले ६.४९ प्रतिशत र स्वावलम्बन लघुवित्तले ६.३० प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज बढी गुमाउनेमा कम्पनीहरूमा युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावरको २.०८ प्रतिशत, नयाँ सारथि लघुवित्त वित्तीय सस्थाको १.९० प्रतिशतले, शिवश्री हाइड्रोपावरको १.३३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बुधवार सबैभन्दा धेरै शेयर रकमको कारोवार गर्ने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । यसको शेयर मूल्य ९ अंकले घटेको भए पनि यसको किनबेच बढी भएका कारण एकैदिन ८ करोड ४३ लाखको कारोबार भएको हो ।

प्रतिक्रिया