को हुन् नवनियुक्त सशस्त्र आईजी पुष्पराम केसी ?


काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसीलाई सरकारले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले एआईजीद्वय रामशरण पौडेल र केसी मध्येबाट केसीलाई आईजीपीमा बढुवा गर्न निर्णय गरेको हो ।

शिवपुरी गाउँपालिका वगडा नं. १ तलाखु नुवाकोट स्थायी घर भएका केसीले २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सुरक्षा सेवामा प्रवेश गरेका थिए । त्यसपछि सशस्त्र प्रहरी बलको गठन भएपछि उनी सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका केसी उत्कृष्ट प्रहरीका अधिकृतका रूपमा रहे ।

सार्वजनिक प्रशासनमा स्नातकोत्तर र शिक्षा संकायबाट स्नातक उत्तीर्ण केसीले विभिन्न तालिमहरु सम्पन्न गरेका छन् । तालिम र परिचालन व्यवस्थापनमा दक्ष मानिएका केसीले भारतको एसएसबी शिक्षालयबाट उच्च स्तरीय व्यवस्थापनको कोर्ष हासिल गरेका छन् । त्यस्तै उनले अमेरिकाबाट पनि संकट व्यवस्थापनसम्बन्धी कोर्ष गरेका छन् ।

चीनको युनान पुलिस अफिसर एकेडेमीबाट कानुनी कोर्ष लिएका केसीले नेपाली सेनाको स्टाफ कलेज शिवपुरीबाट कमाण्ड र स्टाफ कोर्स पनि लिएका छन् ।

त्यसका साथै केसीले भीभीआईपी बेसिक अफिसर कोर्स, ट्राफिक व्यवस्थापन प्रशिक्षण, प्रशिक्षक प्रशिक्षण तालिम, अपराध अनुसन्धान तालिमलगायतका दर्जनौं तालिम लिएका छन् ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत दक्षिणी सुडान, लाइबेरिया र इराकमा समेत काम गरेको अनुभव भएका केसी सशस्त्र प्रहरी बलको इतिहासमा ११ औं महानिरीक्षकका रुपमा नियुक्त भएका छन् । उनले यही वैशाख १८ गतेसम्म सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्ने छन् । जुन अहिलेसम्मका महानिरीक्षकमध्ये दोस्रो कम समयावधि हो । यसअघि सशस्त्र प्रहरीको इतिहासमा छैटौं महानिरीक्षक बनेका किशोर कुमार लामाले १३ दिन संगठनको कमाण्ड सम्हालेका थिए ।

 

प्रतिक्रिया