एक नम्बरमा डिआईजी हुन्छु भन्दै हिँड्ने कि काम पनि गर्ने एसएसपी सा’प !


काठमाडौं – नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व सम्हालेको आज तीन महिना पुगेको छ। २३ पुसमा जोशीको महाशाखामा सरुवा भएको थियो।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त/दुरुस्त बनाउन ट्राफिक महाशाखा प्रमुखको ठूलो भूमिका रहन्छ। दिनहुँ हजारौंको संख्यामा सवारीसाधनहरु चल्ने भएकाले सोचेजस्तो सहज भने छैन।

त्यहि पनि तल्लो तहका ट्राफिक प्रहरीहरु घामपानी नभनी २४ सै घण्टा सडकमै खटिन्छन्। तर, हाकिमहरु सकेसम्म अफिसबाट सडकमा निस्कन खोज्दैनन्। कारण तल्लो तहका ट्राफिकहरुले काम गरेपछि निस्कन आवश्यक ठान्दैनन्।

जोशी महाशाखा आएपछि झनै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल भएको एक उच्च प्रहरी अधिकृत बताउँछन्। कमाण्ड क्षमता कमजोर रहेका जोशीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन थप चुनौती थपिएको हो।

स्रोतका अनुसार अहिले एसएसपी जोशीको ध्याउन्न उपत्यकाको ट्राफिक व्यवस्थापनमा भन्दा पनि आफू कसरी प्रहरी नायब महानिरीक्षक (डिआईजी) बन्नेमा केन्द्रीत रहेको छ।

हालै सरकारले तीनजना डिआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेपछि रिक्त पदको लागि दर्जनौं एसएसपीहरु प्रतिस्पर्धामा रहेका छन्। सोही अनुरुप संगठनले दिएको काम गर्न छाडेर जोशी लबिङमा लागेको स्रोतले बतायो।

‘एक नम्बरमा डिआईजी हुन्छु, अहिलेको सरकारले मलाई नै बढुवा गर्छ भन्दै जोशी हिँड्ने गरेका छन्,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘नेपाली काँग्रेसका धेरै नेताहरुसँग मेरो निकट सम्बन्ध भएकाले म नै एक नम्बरमा डिआईजी हुने हो भन्न थालेका छन्।’

त्यतिमात्र होइन एसएसपी जोशीले आफू मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई ब्रिफिङ गर्दा समेत सो कुरा भन्ने गरेका छन्। उनले ब्रिफिङमा आफू इन्टरपोल प्रमुख भएर बसेको हुँदा समेत सरकारले आफूलाई बढुवा गर्ने बताउने गरेका छन्।

स्रोत भन्छ, ‘ब्रिफिङमा जोशीले आफूले एलएलबी पढेको, इन्टरपोल प्रमुख भएर लामो समय काम गरेको, केन्द्रीय सहप्रवक्ता भएर काम गरेको जस्तो कुराहरु मात्र गर्ने गर्छन्। ब्रिफिङमा जोशीले आफ्नो मात्र कुरा गर्ने गर्छन्।’

जबकी डिआईजीको लागि जोशीसँगै सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, भीम ढकाल, दीपक थापा, टेक बहादुर तामाङ, टेक प्रसाद राई, अशोक सिंह पनि प्रतिस्पर्धामा छन्। स्रोतका अनुसार माथिका सबैमध्ये कमाण्ड क्षमतामा जोशी कमजोर छन्।

यसरी ब्रिफिङमा समेत एसएसपी जोशीले कामभन्दा पनि आफ्नो गुनगान गाउने गरेका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो।

‘ब्रिफिङमा त कहाँको ट्राफिक व्यवस्थापनमा समस्या भएको छ? कसले कस्तो काम गरेको छ? काम नगर्नेलाई सम्झाउने, काम गर्नेलाई हौसला दिनुपर्ने जस्ता कुराहरु पो गरिन्छ,’ ती अधिकृतले भने।

ट्राफिक प्रमुख भएपछि एसएसपी जोशीले कसरी उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त/दुरुस्त बनाउने तथा सवारी दुर्घटना न्युनीकरण गर्ने, जस्ता कुरामा ध्यान दिनुपर्ने होइन?

जोशीले चोरी भएका दुई पाङ्ग्रे सवारी साधनहरू हामी खोज्याैं भनेर प्रेस मिट गर्ने काम मात्र गरिरहेका छन्। कहाँको ट्राफिक व्यवस्थापन भद्रगोल भएको छ भनेर ट्राफिक प्रमुख आफैं फिल्डमा गएर बुझ्नुपर्ने होइन ?

गाडीको अत्याधिक चापको कारण चालकहरुले ट्राफिक नियमहरु पालना गरिरहेका छैनन्। जताततै अव्यवस्थित रुपमा पार्किङ गरिएको छ। तैपनि यिनीहरूलाई कारबाही गरिएको छैन । यस्ता कुराहरुमा ट्राफिक प्रमुखले चासो किन दिँदैनन्?

यस्तो काम नै गर्न नसक्ने ट्राफिक प्रमुखबाट सर्वसाधारणहरुले के अपेक्षा गर्ने? ट्राफिक प्रमुखको ढिलासुस्ती र गैर जिम्मेवारीपनले सर्वसाधारणले कहिलेसम्म दुःख पाइरहने हो?

एसएसपी जोशी संघीय प्रहरी इकाई कार्यालय बनेपा, काभ्रेमा प्रमुख हुँदा अवैध असुली र जुवाडेहरूसँग कमिशन खाएको अभियोगमा अनुसन्धानको दायरमा परेका अधिकृत हुन्।

जतिबेला एसएसपी जोशीले घुमुवामार्फत जुवाडेहरूसँग कमिशन खानेदेखि अबैध रुपमा प्राकृतिक दोहन गर्न दिएर असुली धन्दा चलाएको बयान घुमुवाले काभ्रे प्रहरी समक्ष दिएपछि उनी विवादमा तानिएका थिए ।

प्रतिक्रिया