

प्रहरी परिसर काठमाडौंको गेटबाट फरार भएका थुनुवा पक्राउ

काठमाडौं- प्रहरी परिसर भद्रकालीको गेटबाट मंगलबार फरार भएका थुनुवा निशान परियार पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार फरार रहेका २४ वर्षीय परियारलाई असन याट्खाबाट पक्राउ गरिएको हो। परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले दिएको जानकारी अनुसार उनी अभद्र व्यवहारसम्बन्धी मुद्दाका थुनुवा हुन्।
परियारलाई प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि भद्रकाली परिसरमा ल्याइएकै बेला उनी गेटबाटै फरार भएका थिए। फरारपछि प्रहरीले तत्काल खोजी अभियान चलाएको थियो।
पक्राउ परेपछि उनलाई पुनः हिरासतमा लिइएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

