

वैदेशिक रोजगारीको सपना देखाएर ठगी गर्ने चार जना काठमाडौंमा पक्राउ

काठमाडौं— वैदेशिक रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये तार्केश्वर नगरपालिका–४ बस्ने तनहुँका विकास गुरुङले अजरबैजान पठाइदिन्छु भन्दै दुई जनाबाट ५ लाख रुपैयाँ ठगेका थिए। यस्तै, सिन्धुलीकी रन्जना अधिकारीले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख लिएकी थिइन्। ताप्लेजुङका यादव प्रसाद घिमिरेले पनि जापान पठाउने भन्दै ५० हजार रुपैयाँ लिएका थिए। कञ्चनपुरका लोकजन खड्काले थाइल्याण्ड पठाइदिन्छु भन्दै एक पीडितबाट ४ लाख ४० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए।
पीडितहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा उजुरी दिएपछि प्रहरी टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा विकास गुरुङ र यादव प्रसाद घिमिरेलाई काठमाडौं महानगरपालिका–१२ बाट, रन्जना अधिकारीलाई महानगरपालिका–१ बाट र लोकजन खड्कालाई महानगरपालिका–३ बाट पक्राउ गरिएको हो।
पक्राउ परेका चारै जनालाई वैदेशिक रोजगार विभागमा बुझाई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

