


चुनाव चिह्न अंकित प्रचार सामग्री प्रयोग नगर्नू : आयोग

काठमाडाैं – स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूले निर्माण प्रचारप्रसार गर्दा चुनाव चिह्न अंकित प्रचार सामग्री प्रयोग गर्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दिएको ६० बुँदे निर्देशनको बुँदा नम्बर १६ मा भनिएको छ, ‘जुलुस वा आमसभा वा प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा बोक्न नहुने ।’
चुनावको प्रचारका लागि जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने आचारसंहिता निर्वाचन आयोगले बनाएको छ ।
आयोगले जारी गरेको निर्देशनको बुँदा नम्बर १८ मा भनिएको छ, ‘प्रचार गर्दा दलको झण्डा वा दल वा उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने ।’
कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारीसाधन अन्य स्थानमा प्रयोग गर्न नहुने निर्देशन निर्वाचन आयोगले जारी गरेको छ ।

