
करिष्माको कटाक्षः ‘मेरो न्वारनको नामले धेरैलाई पोल्यो’
काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारनको नाम थाहा पाएपछि धेरैलाई पोल्न थालेको बताएकी छन्। नेकपा एमाले प्रवेश गरेकी मानन्धरले गत सोमबार कपिलवस्तुमा गरेको एउटा भाषण निकै चर्चामा आयो। उनले आफ्नो न्वारानको नाम उल्लेख गर्दै आफू जन्मजात नै एमाले भएको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘मेरो न्वारनका नाम नै सूर्यकुमारी भएकाले म जन्मजात एमाले हुँ।’ कार्यक्रममा आफ्नो न्वारनको नाम भन्दा ट्रोल भएकी करिश्माले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएकी हुन्।
करिष्माको उक्त टिप्पणीले सामाजिक सञ्जालदेखि कलाकारिता क्षेत्रमा ठूलै तरंग ल्यायो। तर, करिष्मालाई यी कुराले फरक पारेन। आफ्नो भाषणका कारण चर्चामा आएकी करिष्माले लोकप्रियतालाई थप अर्को उचाईंमा पुर्याउन सामाजिक सञ्जालको प्रयोग गरिन्। उनले बिहीबार बिहान सामाजिक सञ्जाममा आफ्नो नाम सूर्य कुमारी भएको थाहा पाउँदा धेरैलाई पोलेको र भिटामिन डि प्राप्त भएको भन्दै व्यंग्य गरिन्।
‘सूर्य कुमारी, मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो, भिटामिन डि प्राप्त भयो,’ करिष्माले लेखेकी छन्, ‘राम्रै भयो।’ उनले आफ्नो भाषणमा आएको प्रतिक्रियामाथि दिएको प्रतिक्रिया पनि भाषणजस्तै चर्चामा आइरहेको छ। मानन्धरले आफ्नो र पार्टीका अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्दै दिएको यो अभिव्यक्तिले अहिले सामाजिक सञ्जाल तताएको छ।
करिष्माको राजनीतिक करिअरमा एमाले दोस्रो पार्टी हो। यसअघि उनी बाबुराम भट्टराई आवद्ध रहेको ‘नयाँ शक्ति’ पार्टीमा थिइन्। चुनावको मिति नजिकिँदै गर्दा एमालेमा प्रवेश गरेकी करिश्माले मिश्रित प्रतिक्रिया पाइरहेकी छन्।



कागजपत्र |
