विद्युत् उत्पादनलाई प्राथमिकतामा राखेर आयात र निर्यातलाई सन्तुलनमा ल्याउनुपर्छ : गृहमन्त्री खाँण


काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा रहेका नदीको पानी उपयोग गर्दै विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसँग गृह मन्त्रालयमा बुधवार भएको भेटमा गृहमन्त्री खाँणले स्वदेशमै उत्पादित विद्युत् सबै नेपालीको घरघरमा पुर्‍याएर खपत बढाएमा मात्रै पेट्रोलियम पदार्थको आयात घटाउन सकिने बताए ।

उनले आयात र निर्यातमा सन्तुलन नभएको र व्यापार घाटा बढ्दो रूपमा रहेको बताए । ‘अहिले आयात र निर्यातमा सन्तुलन छैन । व्यापार घाटा बढ्दो छ,’ गृहमन्त्री खाँणले भने, ‘आयात र निर्यातमा सन्तुलन कायम राख्न र व्यापार घाटा कम गर्न केही समय लाग्छ । पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । यसको आयात पनि बढ्दो छ । जसले मुलुकको अर्थतन्त्रलाई गम्भीर असर पारेको छ । विद्युत् उत्पादन गरेर खपत गर्न सक्ने अवस्था बन्यो भने मात्रै यसलाई कम गर्न सकिन्छ । त्यसमा ध्यान दिन आवश्यक छ ।’

गृहमन्त्री खाँणले नेपालको संविधान २०७२ राजनीतिक दलबीचको सहमतिबाट संशोधन र परिमार्जन गर्न सकिने भन्दै संविधान संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकता दिन सरकार सकारात्मक रहेको बताए । नेपालको राज्य प्रणालीले गैरआवासीय नेपालीलाई विदेशी मान्न तयार नरहेको भन्दै राज्य गैरआवासीय नेपाली कहिले नेपाल फर्किन्छन् भन्ने प्रतिक्षामा रहेको बताए ।

गैरआवासीय नेपालीलाई नेपालसँग जोडिरहन संविधानमा गैरआवासीय नेपालीबारे विभिन्न व्यवस्था गरिएको उनको भनाइ थियो । संविधानमा व्यवस्था भएअनुरूप कानून बनाएर गैरआवासीय नेपालीलाई नागरिकता दिन सरकारले पहल गर्ने गृहमन्त्री खाँणको भनाइ थियो। गैरआवासीय नेपालीलाई नेपाल आउन र नेपालबाट बाहिर जान सहज बनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेस्क’ स्थापनाको तयारी सरकारले गरिरहेको बताए ।

भेटमा गृहमन्त्री खाँणलाई एनआरएनएका तर्फबाट ५ बुँदे मागपत्र बुझाइएको थियो । मागमा गैरआवासीय नागरिकलाई गैरआवासीय नागरिकता दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने र फर्किनेलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सहज वातावरण निर्माण गरिनुपर्ने, जन्मस्थान नेपाल लेखेका राहदानी बाहकलाई नेपाल प्रवेशाज्ञामा सहज बनाइदिनुपर्ने लगायत उल्लेख छ । भेटमा नवनिर्वाचित अध्यक्षद्वय कूल आचार्य र डा. बद्री केसीले मागबारे आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया