नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम हो : गृहमन्त्री खाँण


काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन् ।

अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपंक्तिमा बसेर लड्न समेत तयार रहेको बताए ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका जीतपुरमा १२औं कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गरे ।

उनले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी ६ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताए । ‘वर्षायाममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनु परेको छ,’ उनले भने, ‘नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ ।’

उनले सरकार व्यवसायीमैत्री रहेको हुँदा उद्योग व्यवसायीको समस्यामा सहयोग गर्ने सरकारको दायित्व रहेको बताए । सरकार र जनता एउटै सिक्काका दुई पाटो रहेको जनाउँदै उनले सबैलाई सहयोग गर्ने विश्वास साट्न चाहेको बताए ।

कपिलवस्तु महोत्सव चैत १३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया