अछामका बाढी प्रभावितको उद्धार र बेपत्ताको खोजी गर्न गृहमन्त्रीको निर्देशन


काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेको उद्वारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका हुन् ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टरको व्यवस्था गर्न उनले निर्देशन दिए ।

उनले अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे शनिवार जानकारी लिएका छन् ।

उनले सीडीओ मरासिनी र डीएसपी डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउधनको रक्षा गर्नु भएको भन्दै बाढी र पहिरामा परी घाइते भएकाको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखी पठाउन निर्देशन दिए ।

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा विपद्मा परेर नौजनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी आएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सीडीओ मरासीनीका अनुसार कमलबजार नगरपालिका–६ को ठाँटीघाटमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कमलबजारकै ८ नम्बर वडामा चाउरे दमाइँको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको छ ।

प्रतिक्रिया