

लेटाङ प्रकरण : मदिराको नशामा घटना भएको हुनसक्ने प्रहरीको अनुमान, १२ जना पक्राउ

मोरङ – लेटाङ घटना प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुसँग आवश्यक सोधपुछ र अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले बताए । पक्राउ परेकाहरूलाई हिजो (सोमबार) नै मेडिकल परीक्षण समेत गराइएको प्रहरी प्रमुख जिसीले जानकारी दिए।
प्रहरी श्रोतका अनुसार प्रहरीले नियन्त्रणमा लिएका मध्ये अधिकांशले मदिरा सेवन गरेको पाईएको र मदिराको नशामा घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
घटनाका विषयमा जानकारी लिइसकेपछि प्रमुख जिल्ला अधिकारी, मोरङ प्रहरी प्रमुख एसपीसहितको टोलीले स्थानीय जनप्रतिनिधीहरुलाई सहजीकरणको लागि प्रयासहरू थाल्न आग्रहसमेत गरेका छन्।
मोरङ जिल्लाको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको थियो। झडपमा परेर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएपछि उक्त क्षेत्रमा स्थानीय प्रशासनले सोमबार बिहान ७ बजेबाट कर्फ्यु जारी गरेको छ ।

