

७५ हजार जरिवानासहित ब्रोकर नं ११ माथि नेपाल धितोपत्र बोर्डको कारबाही

काठमाडौं – नेपाल धितोपत्र बोर्डले मल्ल एन्ड मल्ल स्टक ब्रोकरिङ (ब्रोकर नं ११) लाई कारबाही गरेको छ । लगानीकर्ताको अनुमति बिना नै उनीहरुको खातामा रहेको सेयर बिक्री गर्नुका साथै सेयर किनेको बक्यौता रकममा चर्को ब्याजदर असुलेको भन्दै लगानीकर्ताले केहि समय अगाडि ब्रोकरविरुद्धउजुरी दिएका थिए। सेबोनले उजुरीमाथि अनुसन्धान अगाडि बढाएको थियो।
उजुरीमा ब्रोकर नं. ११ ले धितोपत्र ऐन, २०६३ विपरीत लगानीकर्ताको अनुमति बिना नै उनीहरुको खातामा रहेको सेयर बिक्री गर्नुका साथै सेयर किनेको बक्यौता रकममा चर्को ब्याजदर असुलेको उल्लेख गरिएको छ।
लगानीकर्ताहरुको उजुरी आएसँगै बोर्ड सुपरिवेक्षण विभागले अनुसन्धान अघि बढाएको थियो। विभागको अनुसन्धानबाट ब्रोकर नं. ११ दोषी ठहरिएसँगै धितोपत्र ऐन, २०६३ को दफा १०१ उपदफा ६ बमोजिम सेबोन सञ्चालक समितिले कारबाही गर्ने निर्णय गरेको हो।
धितोपत्र कारोबारपुर्व ग्राहकसँग कारोबार सम्झौता गर्नुपर्ने र सम्झौतामा उल्लेख भएबमोजिम मात्रै रकम लिनुपर्नेमा आफूखुसी १३ देखि १८ प्रतिशतसम्म व्याज असुल गरेको देखिएकोले ७५ हजार जरिवाना गरिएको बोर्डले जनाएको छ ।
लगानीकर्ताहरुले अहिले सञ्चालनमा भएका ब्रोकरहरुले दिने सेवासुविधाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। त्यसैले लगानीकर्ताका अगुवाहरुले ब्रोकर संख्या थप्नुका साथै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भनेर समयसमयमा आन्दोलन गर्दै आएका छन्।

