होलीमा बढ्दो परनिर्भता : करिब २ अर्बको रंग आयात


काठमाडाैं – फागुन शुक्ल पूर्णिमाका दिन होली पर्व मनाउने गरिन्छ । होली पर्वलाई रंगहरुको पर्व भनेर पनि चिन्ने गरिन्छ । नेपालमा यो पर्व दुई दिन मनाइन्छ । एक दिन हिमाल–पहाडमा र अर्को दिन मधेस–तराईमा । होली जहाँ, जसरी वा जुन दिन मनाए पनि यो पर्वको एउटा प्रमुख विशेषता भनेको–यसको भावना जहाँ पनि एउटै छ, हुन्छ । अर्थात् सप्त रंगहरूमा एकै रंग ।

होलीमा शत्रु पनि मित्र बन्ने धेरै पुरानो भनाइ नै छ ।  मित्रता, एकता तथा सद्भावरूपी रङ्गहरूको पावन पर्व होली खुसी आदानप्रदान गरी आज तराई होली मनाइँदै छ । साना बालबालिकादेखि वृद्धवृद्धासम्म होलीको रङ्गमा रगिने गर्दछन् ।

नेपाली समाजमा पछिल्लो समय होली पर्व धुमधामसँग मनाउने प्रचलन बढ्दो छ । आफ्न्त भेट हुने एक अर्कोलाई रङ्ग लगायर मिठोमिठो खानेकुरा खाएर होली पर्व मनाउने प्रचलन बढ्दै गइरहेको छ । व्यापक रूपमा होली मनाउन थालिए पनि यसमा प्रयोग हुने सामान नेपालमा उत्पादन हुँदैन ।

उत्पादन भएपनि बजारको माग धान्नेगरी उद्योगहरूले आपूर्ति गर्न नसक्ने गरेको भन्सार विभागको आयात तथ्यांकले देखाउँछ ।   भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना (माघ) सम्ममात्रै करिब २ अर्ब रुपैयाँको रंग आयात भएको छ ।

विश्वका विभिन्न मुलुकबाट माघसम्ममा १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको रंग भित्रिएको हो । आयात गरिएकोमध्ये अधिकांश रंग फागुलक्षित नै हो । यसबाहेक, पीचकारी, बेलुन र होलीमा प्रयोग हुने ‘ह्याप्पी होली’ अंकित वा होली विशेष टिर्सटसमेत विदेशबाटै भित्रिन्छ ।

सात महिना अवधिमा सबैभन्दा धेरै रंग दक्षिण छिमेकी मुलुक भारतबाट आयात भएको छ । विभागका अनुसार भारतबाट साउनदेखि माघ महिनासम्ममा १ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको रंग भित्रिएको छ । भारतपछि चीनबाट सबैभन्दा धेरै रंग आयात भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को सात महिना अवधिमा १ अर्ब ७६ करोड रुपैयाँको रंग भित्रिएको थियो ।

यसबाहेक बंगलादेश, मलेसिया, ताइवान, नेदरल्याण्ड, बेल्जियम, थाइल्याण्ड, स्वीट्जरल्याण्ड, स्पेन, नेदरल्याण्ड, मेक्सिको, अमेरिका, बेलायत र जर्मनीबाट समेत केही परिमाणमा रंग आयात भएको देखिन्छ । ती मुलुकहरूबाट नेपालीले होली खेल्न प्रयोग गर्ने रंग भित्रिने गरेको हो । यस्तै, पीचकारी र बेलुन भने चीनबाट भित्रिने विभागको भनाइ छ ।

प्रतिक्रिया