
कलम थाम्दै जिन्दगीसँग लडेका कवि प्रचण्ड भाष्करका शब्दहरू अब पुस्तकमा
काव्य संग्रह विमोचनको तयारी
काठमाडाैं- कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर) को निधन भएको केही समयपछि साथीहरूले उनको काव्यकृति सार्वजनिक गर्ने तयारी गरेका छन्। दिवंगत कविको कविता संग्रह ‘कच्ची रोड सँगैका पक्की चोटहरु’ आगामी जेठ १० गते काठमाडौंको सर्वनाम थ्रियटरमा औपचारिक रूपमा विमोचन गरिने भएको हो।
२०५१ सालको पुस १० गते बैतडीको शिवनाथ गाउँपालिका–२, शर्मालीमा जन्मिएका प्रचण्ड भाष्करको निधन गत कात्तिक ९ गते २९ वर्षको अल्पायुमै भएको थियो। एक वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित रहेका उनको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका—१७ मझगाउँस्थित आफ्नै निवासमा निधन भएको थियाे।
छोटो समयमा नै नेपाली, डोट्याली र हिन्दी भाषामा कवितामार्फत पहिचान बनाएका भाष्करको काव्ययात्रा ओझेलमा हराउने क्रममा रहेका बेला उनका मित्रहरूले श्रद्धाञ्जलिस्वरूप उनको लेखनीलाई पुस्तकमा संकलन गरेका हुन्।
जीवनपानीको सम्पादन, भिष्म प्रसाद उपाध्यायको लेआउट र रसिक राजद्वारा बनाइएको आवरणसहित प्रकाशित यस कृतिमार्फत कविको गहिरो संवेदना, युवा जीवनको पीडा र समयको बेगलाई महसुस गर्न सकिनेछ।
पुस्तक ‘कच्ची रोड सँगैका पक्की चोटहरु’ मा जीवन, समाज र सम्बन्धका गहिरा चोटहरुलाई सरल तर प्रभावशाली भाषामा कविताबद्ध गरिएको छ। कविको लेखनीमा आम मानिसको कथा, ग्रामीण जीवनको यथार्थ र आत्मसंघर्ष प्रस्ट झल्कन्छ।
यस काव्यसंग्रहको मूल्य ४९० तोकिएको छ। युवा उमेरमै कालले सधैंका लागि लिएको कवि प्रचण्ड भाष्करको स्मृतिमा आयोजना गरिँदै गरेको यस विमोचन कार्यक्रमले साहित्यिक वृत्तमा उनको नामलाई जीवन्त बनाइराख्ने विश्वास गरिएको छ।



कागजपत्र |
