

दोहोराे अंकले घट्यो नेप्से, ३ अर्ब ३६ करोडको कारोबार

काठमाडौँ- चैत महिनाको पहिलो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव १५ अंकले घटेर २ हजार ६ सय ५० दशमलव ९७ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबारका मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २६ अंकले घटेको छ । आईतबार १०१ अंकले बढेको बजारमा सोमबार टिएमएसमा आएको प्राविधिक समस्याका कारण १२ः५३ पछि कारोबार रोकिएको थियो ।
कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ । जीवन बीमा समूह १०२ अंक, होटल एण्ड टुरिजम ९७.७, निर्जीवन बीमा समूह ६७ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको वृद्धि आएको छ ।
यीबाहेक, उत्पादनमूलक समूह १०४ अंकले घटेको छ भने जलविद्युत समूह ४५ अंकले घटेको छ ।यस्तै, अन्य समूह ३५ अंकले घट्दा लघुवित्त समूह ३९ अंकले घटेको छ । यसका साथै, व्यापार समूहमा समेत २७ अंकको गिरावट आउँदा बैंकिङ समूह ११ अंकले घटेको छ ।
मंगलबार इमर्जीङ नेपाल लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय २९ रूपैयाँ ७० पैसा पुगेको छ । सगरमाथा इन्स्योरेन्स र सोल्टी होटलको मूल्य ६ प्रतिशत बढ्यो ।
आज नेपाल टेलिकमको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ५.१३ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ६ सय २६ रूपैयाँमा अन्तिम कारोबार भएको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड २३ लाख ५७ हजार एक सय ९४ रूपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, अपि पावर कम्पनीको १२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

