राहदानी विभागको अनलाइन फारम किर्ते गरेको आरोपमा तीन जना पक्राउ


काठमाडाैं – प्रहरीले राहदानी विभागको अनलाइन फारम किर्ते गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो अन्दाजी १ बजेको समयमा त्रिपुरेश्वरस्थित विभागको हाताबाहिर राहदानीको अनलाइन फारम किर्ते गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नगद र सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका- ७ का ३५ वर्षीय दिनेश तामाङ, लमजुङको बेसीसहर गाउँपालिका- ११ का ४० वर्षीय नवीन कुमार श्रेष्ठ र सुर्खेतको विरेन्द्रनगर नगरपालिका- १२ का ३६ वर्षीय यमबहादुर थापा मगर छन् ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट किर्ते सम्बन्धी कसुरमा ७ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको साथबाट नगद ४० हजार, एक थान कम्प्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर र किर्ते गरिएका कागजपत्र ५० थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया