

यी हुन् नेपालमा सबैभन्दा धेरै र थोरै जनसंख्या भएका स्थानीय तह

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले २०७८ मंसिरमा सम्पन्न राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार बाँकेको बैजनाथपुर गाउँपालिकामा सबैभन्दा धेरै र सबैभन्दा कम जनसंख्या मनाङको नार्पा भूमि गाउँपालिकामा देखाएको छ ।
गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी रहेका छन् भने सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङको नार्फा भूमी, मुस्ताङ्गको लो–घेकर दामोदरकुण्ड, मनाङको मनाङ ङ्सियाङ र नासोँ गाउँपालिका छन् ।
तथ्यांक विभागद्वारा सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा धेरै जनसख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको छ ।
जनगणनाअनुसार १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ छ भने ५० हजार भन्दा बढी जनसख्या हुने गाउँपालिकाको संख्या १५ रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् ।
सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालिगुराँस र दोलखाको जिरी नगरपालिका छन् ।
सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको विभागले जानकारी दिएको छ ।
२० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ छ भने १ लाखभन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।

