दर्ता हुन नआए फेसबुकलाई प्रतिबन्ध लगाउँछौँ : सञ्चारमन्त्री गुरूङ


काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिँनलाग्दासमेत दर्ता नगरेको बताए ।

नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन सकिने उनको भनाइ छ ।

उनले भने, ‘पहिला पनि हामीले तीन महिनाको सूचना जारी गरेको दर्ता गर्न आउ भनेर । अहिले एक महिनाको सूचनाको दुई तीन दिन बाँकी छ कोही आउँदैन । मेटा जसले फेसबुक चलाउँछ मेसेन्जर चलाउँछ, ह्वाट्सएप चलाउँछ, इन्स्टाग्राम चलाउँछ दर्ता गर्न किन आउँदैन ? सरकारलाई नै टेर्दैन उसले नेपाललाई नै टेर्दैन ।’

उनले देशको स्वाभिमान बिथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताए ।

 

 

प्रतिक्रिया