अरुण दास हत्या प्रकरणः ‘बक्स’तर्फ सोझियो प्रहरी अनुसन्धान


काठमाडौं – गत शनिबार विभत्स तरिकाले हत्या गरिएको अवस्थामा कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको र शरीर अलग पारिएको अवस्थामा फेला पर्यो।

दासको हत्यामा संलग्न एकजना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले पक्राउ गरिसकेको छ भने घटनामा संलग्न अन्य ६/७ जना फरार रहेको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरुको पहिचान खुलेपनि भारतमा लुकेर बसेको प्रहरीको दाबी छ।

उनीहरु एउटै समूहका रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दास समेत सोही समूहका सदस्य हुन्।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोली तालिम प्राप्त कुकुरसहित परिचालन भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे केही ‘क्लू’ फेला परेको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

दासको हत्याको कारण के? यसबारे प्रहरी गम्भीर अनुसन्धानमा जुटेको छ। दासको विभत्स हत्यापछिको दुई युवाबीच भएको फोन रेकर्डको आधारमा प्रहरी अनुसन्धानमा जुटेको हो। दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएसँगै उनीहरुले नै हत्या गरेको अनुमान गर्न सकिन्छ।

सार्वजनिक अडिओ ३ मिनेट २२ सेकेण्डको छ। जसमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिदिइको बताएका छन्। मनोजले फोन रेडर्कमा अर्का युवकलाई भनेका छन्, ‘घाँटी र शरीर अलग–अलग छ। तपाईले एक/दुई दिनमा थाहा पाउनुहुन्छ।’

त्यस्तै अडिओको २ मिनेट ४१ सेकेण्डमा एउटा शब्द सुन्न सकिन्छ, जसमा भनिएको छ– ‘त्यो बक्स उठाउने मान्छेलाई उडाइदिएको हो’ भनेर मनोज भनिएका युवकलाई अर्का युवकले सोधेका छन्। मनोजले समेत हो..हो.. भन्दै घाँटी अलग शरीर अलग भनेका छन्।

प्रहरी त्यहि शब्द ‘बक्स’ लाई आधार मानेर अनुसन्धानमा जुटेको हो। तर, ‘बक्स’ को बारेमा प्रहरी समेत अनविज्ञ नै छ। त्यसो भए के को बक्स भनेका हुन् ती युवाहरुले? अनुसन्धान बक्स शब्दतिर सोझिएको प्रहरीले जनाएको छ।

दास हत्याको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनीहरुले भनेको ‘बक्स’ शब्द नै अनुतरित्त छ। ‘मोबाइल चोरीको बक्स हो, ठूलै परिमाणमा लागूऔषध रहेको बक्स हो या भारतबाट चोरी गरेर ल्याएका सुनका गरगहना राख्ने बक्स हो,’ ती अधिकारीले भने, ‘यी तीनवटा पाटोबाट समेत अनुसन्धान सुरु भएको छ।’

प्रहरीका अनुसार मृतक दास भारत आउजाउ गर्थे। कतै उनले भारतबाट बहुमूल्य सामान ल्याएको हुँदा कुरा नमिलेर उनको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

हत्याको अघिल्लो दिन शुक्रबार साँझ दास आफ्नै समूहका साथीभाईहरुसँगै घरबाट निस्किएका थिए। सोहीदिन बेलुकी केही साथीहरुले घरमा आएर दासकी श्रीमतीलाई ‘तेरो श्रीमान’लाई अपहरण गरेर राखेको भन्दै धम्की समेत दिएको प्रहरी अनुसन्धानबाट खुलेको ती अधिकारीले अनलाइनन्यूज७लाई बताए।

तर, श्रीमतीले सो कुरा प्रहरीमा खबर नगरेको पाइएको छ। घटनाको भोलिपल्ट अर्थात शनिबार बिहानै दासका त्यही साथीहरुले घर खानतलासी समेत गरेको अनुसन्धानमा खुलेको छ। ‘जतिबेला उनीहरुले त्यहि शब्द ‘बक्स’ खोई भन्दै दासकी श्रीमतीलाई समेत सोधेको पाइएको छ,’ ती प्रहरी अधिकारीले भने।

त्यसैले दास हत्या प्रकरणमा अनुतरित्त रहेको ‘बक्स’ लाई खोजिरहेको छ कैलाली प्रहरी। प्रहरीका अनुसार त्यो बक्सभित्र के थियो अहिलेसम्म केही खुलेको छैन। पक्राउ परेका व्यक्तिले समेत केही भनेका छैनन्।

कैलाली जिल्ला भारतबाट सुनका गहना चोरी गरेर ल्याउने र लागूऔषधको अखडा हो।

यद्यपी, ती अडिओमा बोल्ने दुई युवाहरु को हुन् प्रहरीले केही खुलाएको छैन। उनीहरु परिचय समेत प्रहरीले गोप्य राखेको छ। ती मनोज भन्ने व्यक्ति बोल्दा ब्याकग्राउण्डमा अरुको स्वर पनि सुनिन्छ।

‘हत्यापछिको अडियो रेकर्ड हामीले पाएका छौं,’ कैलालीका एसपी विश्व अधिकारीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ। शंकास्पद व्यक्ति उपर अनुसन्धान बढाएका छौँ। डग स्निफिङ पनि गराइएको छ।’

सम्भवतः दासको हत्यामा संलग्न व्यक्ति छिट्टै कानुनको दायरामा आउने अधिकारीले विश्वास व्यक्त गरे। घटनास्थलमा चुरोटका ठुटा र प्याकेटहरु भेटिएको कारण लागूऔषध प्रयोगकर्ताले नै दासको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

यस्तै, गएको २३ कात्तिकमा लम्कीचुहा नगरपालिका– ३ का २३ वर्षीय भूपेन्द्र बडुवालको धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो। कैलालीमा एकपछि अर्को हत्या हुन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।

 

शव उठ्यो

आक्रोशित स्थानीय वासिन्दाले दासको हत्यामा संलग्नलाई पक्राउको माग गर्दै आइतबार शव उठाउन मानेनन्। सोमबार भने स्थानीय जनप्रतिनिधिहरुको अगुवाइमा गरिएको छलफलका क्रममा प्रहरीले दोषीलाई शीघ्र पक्राउ गरेर कारवाहीको दायरामा ल्याउने प्रतिबद्धतापछि पीडित पक्ष शव उठाउन सहमत भएको छ।

जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले पीडित पक्ष घटनास्थलबाट दासको शव उठाउन सहमत भएको बताए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले पनि पीडित पक्ष शव उठाउन सहमत भएको बताए।

प्रतिक्रिया