शिक्षक माग्‍दै आन्दोलनमा उत्रिए विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप


वीरगंज – वीरगंज-पथलैया सडकखण्डको परवानीपुर बजारमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् । बिहान साढे ११ बजेदेखि २ बजेसम्म चक्काजाम गरी प्रदर्शन गरेका हुन् । वीरगंज-२१ स्थित नेपाल गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीहरुले अंग्रेजी र विज्ञानको विषयगत शिक्षकको माग गर्दै चक्काजाम गरेका हुन् ।

यसअघि पनि तीन दिनअघि विद्यार्थीहरुले लिपनीविर्ता वडामा प्रदर्शन गरेका थिए । सोमबारको प्रदर्शन र चक्काजाम हटाउन पर्सा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको लाठीचार्जबाट दश जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा कक्षा १० का विद्यार्थी लक्षमिना पटेल, सोनु पटेल, अखिलेश मण्डल, प्रेमराज मण्डल, सुवोध पटेल, राहुल देवान रहेका छन् ।

घाइते विद्यार्थीहरुको नजिकैको स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ। पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार स्थिति नियन्त्रणका लागि १३ राउन्ड अश्रु ग्यास प्रहार भएको छ । करिब ८ सय विद्यार्थी रहेको स्कूलमा शिशु कक्षादेखि १० सम्म पढाई हुन्छ। विद्यालयमा ४ शिक्षिका र ११ शिक्षक छन् ।

१५ जनामा दैनिक चार जना अनुपस्थित रहँदै आएकोले पठनपाठन प्रभावित भएको विद्यार्थीको भनाई छ । विद्यार्थीहरुले प्रयोगशाला तथा कम्प्युटर कक्षामा समेत विद्यार्थीहरुलाई सिकाउन शिक्षक नगएको आरोप लगाएका छ्न् ।

विद्यालयका प्रधानाध्यापक राजकुमार सिंहले आन्तरिक समस्याका कारण विद्यार्थीहरुले आन्दोलन गरेको बताए । उनले विद्यार्थीहरुको आन्दोलनप्रति आफ्नो पनि एक्यवद्धता रहेको बताए । समस्या समाधनका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए ।

प्रतिक्रिया