गभर्नरको राजीनामा माग्दै विद्यार्थी संगठनले गरे आन्दोलनकाे घोषणा


काठमाडाैं – सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारी नेकपा एमालेको वित्त तथा योजना आयोगको सदस्य भएको दाबी गर्दै विद्यार्थीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।

राजनीतिक दलको सदस्य राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहन नमिल्ने कानूनी व्यवस्था रहेको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियूले विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

विद्यार्थी संगठनहरूले प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने, नेपाल राष्ट्र बैंकका सबै कार्यालयमा कालो ब्यानर राख्ने, अन्तरक्रिया गर्नेलगायतका कार्यक्रम घोषणा गरेका छन् । विज्ञप्तिमा गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ व्यवस्थाविपरीत गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएको उल्लेख गरिएको छ ।

‘शेयर कारोबार, क्रिप्टो करेन्सीजस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अहिले प्रमाणित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अनैतिक व्यक्तिबाट राजिनामाको अपेक्षा गर्नु मुर्खता हुनेछ त्यसकारण नेपाल सरकार समक्ष अवैध गभर्नर वर्खास्तीको जोडदार माग गर्दै संयुक्त विद्यार्थी संगठन निम्न संघर्षका कार्यक्रमको घोषणा गर्दछौँ ।’

यी हुन् आन्दोलनका कार्यक्रम

१. श्रावन ३ गते अवैध गभर्नर बर्खास्तीको माग गर्दै सम्माननीय प्रधानमन्त्री ज्यु र प्रतिनिधि सभाका सम्माननीय सभामुख ज्यू लाई ज्ञापनपत्र बुझाउने ।

२. श्रावण ४ गते नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरिका कार्यालयहरूमा कालो ब्यानर राख्ने ।

३. श्रावण ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गर्ने ।

४. श्रावण ६ गते देशैभरि क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने ।

५. श्रावण ७ गते संघीय संसद सदस्यहरूलाई अवैध गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनी मार्ग अगाडि सडकबाट सन्देश पठाउने ।

प्रतिक्रिया