ओलीबाहेक अरुलाई नेता मान्दिनः सुवास नेम्वाङ


काठमाडौं – नेकपा एमालेले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या थपे पनि दसौं महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विषय अध्यक्ष केपी शर्मा ओलीको लागि पेचिलो बन्दै गएको छ।

कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका अध्यक्ष ओलीलाई वरिष्ठ उपाध्यक्ष र महासचिव छनोटमा सकस देखिएको छ। बरिष्ठ उपाध्यक्षका लागि महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले लबिङ गरिरहेका छन।

यता, ओली पोखरेललाई बरिष्ठ उपाध्यक्ष बनाउन चाहन्छन्। तर, नेम्वाङले ओलीको कुरा मानिरहेका छैनन्। पोखरेललाई बरिष्ठ उपाध्यक्ष बनाउन खोजेको थाहा पाएपछि नेम्वाङले ओलीलाई एक सन्देश पठाएका छन्।

पोखरेललाई नेता नमान्ने सन्देश पठाएका नेम्वाङको तर्क छ, ‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन। यदि मलाई उपाध्यक्षमा सीमित राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं।’

पूर्व सभामुखसमेत रहेका नेम्वाङको सन्देश लिएर प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले अध्यक्ष ओलीलाई भेटेका थिए। सो भेटमा ओलीले छलफल हुने आश्वासन दिएका छन्।

आइतबार बिहान नेम्वाङलाई आफूनिकट नेताहरूले भेट गरेका थिए। सो क्रममा आदिवासी, जनजाति समुदायका एमाले नेता, कार्यकर्ताले नेम्वाङलाई दाबी नछाड्न भनेका थिए।

‘हामीले उहाँलाई आफ्नो दाबी नछाड्नुस् भनेका छौं। पार्टीको दोस्रो वरियतामा पुग्ने अवसरबाट हाम्रो समुदायलाई वञ्चित नगरियोस् भन्ने हाम्रो भनाइ हो,’ नेम्वाङलाई भेटन आउने एक प्रतिनिधिले भने।

यस्तै महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरिरहेका छन्। यी दुवैजना नेता ओलीनिकट हुन्। महासचिवमा ओलीनिकट नेताहरु पौडेल र पोखरेलले दाबी गरेपछि सहमति जुटाउन कठिन हुने सम्भावना बढेको छ।

सहमति जुटाउन दुवै नेताहरुबीच छलफल भइरहेको छ। स्रोतका अनुसार छलफलमा शंकर पोखरेलले नेता पौडेललाई यो पटक आफुलाई महासचिवमा सहयोग गर्न प्रस्ताव गरेका छन्।

प्रतिक्रिया