म्याग्दीमा १२ सडक र मोटरेबल पुल आयोजना रुग्ण


सन्तोष गौतम(रासस)

म्याग्दीम्याग्दीका १२ वटा सडक र मोटरेबल पुल आयोजना अलपत्र परेका छन् । निर्धारित समयभित्र सम्पन्न नभएका र अपेक्षाकृत भौतिक प्रगति नभएका आयोजनाको ठेक्का सम्झौता रकम रु चार अर्ब छ । लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का लिएका निर्माण कम्पनीले समयमै काम नसकेपछि अलपत्र परेका हुन् ।

लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का लिएका निर्माण कम्पनीले समयमै काम नसक्दा ग्रामीण क्षेत्रको विकासमा अवरोध तथा नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

विसं २०७४ असारमा रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भई २०७६ असारमा सकिनुपर्ने बेनीजोमसोम सडक आयोजनाको भौतिक प्रगति ५० प्रतिशत, २०७६ माघमा सकिनुपर्ने रु ४५ करोड ५३ लाखमा सम्झौता भएको बेनीदरवाङ सडक आयोजनाको ५१ प्रतिशत र २०७७ जेठमा सकिनुपर्ने रु २७ करोड ९१ लाखमा ठेक्का सम्झौता भएको पोखरेबगरचित्रे सडक आयोजनाको भौतिक प्रगति ३८ प्रतिशत छ ।

रत्नेचौरबेनी र बेनीबरङ्जा सडक पनि समयमै पूरा हुनसकेको छैन । एक चरणको कालोपत्र भएको ९० प्रतिशत भौतिक प्रगति भएको रत्नेचौरबेनी सडक गत बर्खाको पहिरोले छियाछिया बनाएकाले पुनःनिर्माण गर्नुपर्ने भएको छ । बेनीबरङ्जा सडक कालोपत्रको म्याद चैतसम्म छ । विसं २०७६ जेठमा रु २२ करोड ५७ लाखमा बिरुवाक्याराभान जेभीले ठेक्का लिएको बेनीदरवाङ सडकको दोस्रो प्याकेजको सडक कालोपत्र गर्ने आयोजनाको म्याद २०७८ जेठसम्म भए पनि हालसम्मको प्रगति ३५ प्रतिशत छ । पैँतालीस प्रतिशत भौतिक प्रगति भएको २०७६ जेठमै रु १८ करोड ४१ लाखमा एपेक्सखड्का कृष्ण जेभीले ठेक्का लिएको गलेश्वरपिप्लेभगवतीबेगखोला सडकको म्याद पनि २०७८ जेठसम्म हो ।

विसं २०७६ साउनमा सकिनुपर्ने गौरीपार्वतीरुपल जेभीले २०७५ असारमा रु चार करोड ३२ लाखमा ठेक्का लिएको बेनीगलेश्वर सडकको प्रगति ६७ प्रतिशत छ । गलत डिजाइनका कारण पोखरेबगरपाउद्वार सडकको घारखोलामा १० महिनाअघि ठेक्का सम्झौता भएको मोटरेबल पुल निर्माण शुरु भएको छैन । बेनीजोमसोम सडकअन्तर्गत गत चैतमै सकिनुपर्ने गलेश्वरको राहुघाट खोलामा निर्माणाधीन मोटरेबल पुलको भौतिक प्रगति पनि ५० प्रतिशतको हाराहारीमा छ । दरवाङधारापानी सडकको फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन ठेक्का सम्झौता भएको १६ महिना पुगे पनि डिजाइन र जलविद्युत् आयोजनासँगको विवादले कार्यान्वयन भएको छैन ।

कमजोर भूबनोट भएको म्याग्दीमा सञ्चालित अधिकांश सडक आयोजना सङ्घबाट प्रदेश सरकारमा हस्तान्तरित हुन् । कार्यालयमा दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको कमी, भौगोलिक कठिनाइका अतिरिक्त ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा विकास आयोजना प्रभावित भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले बताए । सङ्घबाट रुग्ण अवस्थाका आयोजना हस्तान्तरण भएकाले त्यसलाई लयमा फर्काउन समस्या भएको छ, उनले भने, ‘प्रतिकूल भूगोल र जनशक्तिको अभावले पनि कामलाई प्रभावित बनाएको छ ।

परामर्शदार्ताले कतिपय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) नै हचुवाको भरमा बनाएको, सरकारले पर्याप्त बजेट व्यवस्था गर्न नसकेको, समुदायस्तरमा हुने विवादका कारण काम गर्न नसकिएको निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीले बताए ।

काम नगर्ने ठेकेदारले कोरोनाको महामारीलाई पनि बहाना बनाएका छन् । अलपत्र आयोजनालाई गति दिन स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समितिले पहल गरे पनि सम्बद्ध आयोजना तथा व्यवसायीले बेवास्ता गरेका छन् । ढिलासुस्तीले थलिएका म्याग्दीका विकास आयोजनालाई गति दिन पर्याप्त बजेट, जनशक्तिको व्यवस्थाका साथै काम नियमित अनुगमन, निगरानी र ताकेता गर्न थालिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले बताए ।

मङ्गलाले हाडेभिरमा अस्पताल बनाउने

म्याग्दीको मङ्गला गाउँपालिकाले वडा नं ५ स्थित हाडेभिरमा १५ श्ययाको अस्पताल बनाउने भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौर बजार नजिकै हालको अर्मन स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउन लागेको हो । स्वास्थ्यचौकी परिसरमा नयाँ बन्ने अस्पताल भवनको सोमबार गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए ।

सङ्घीय सरकारको कार्यक्रमअनुसार अध्यक्ष रोकाले धार्मिक विधिअनुसार पूजापाठ र जग राखेर अस्पताल शिलान्यास गरिएको हो । निर्माणको काम भने डिपिआर तयार र ठेक्का प्रक्रिया सकिएपछि मात्र हुनेछ । अस्पताल बनाउन गाउँपालिकाले दुई वर्षअघि आठ रोपनी जग्गा खरिद गरेको थियो । स्वास्थ्यचौकीको पुरानो भवन, अहिले चालु अवस्थामा रहेको भवन र नयाँ खरिद गरेकोसहित १३ रोपनीभन्दा बढी जग्गा व्यवस्थापन गरिएको छ । अस्पताल बनाउन राष्ट्रिय योजना आयोगको सःशर्त अनुदान शीर्षकमा चालु आर्थिक वर्षमै रु एक करोड ५० लाख बजेट विनियोजन भएको अध्यक्ष रोकाले बताए ।

विस्तृत परियोजना प्रतिवेदन तयार पारेर ठेक्का आह्वान गरी चालु आवभित्रै भवन निर्माण शुरु गर्ने तयारी गरेको उपाध्यक्ष सिर्जना केसीले बताए । हाँडेभिरमा रहेको अर्मन स्वास्थ्यचौकीमा गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारका लागि कोरोना अस्पतालसमेत स्थापना गरेको छ । मङ्गला गाउँपालिकाले मात्र सोमबार अस्पतालको भवन शिलान्यास गरेको हो । धवलागिरि र रघुगङ्गा गाउँपालिकामा स्थान विवादका कारण शिलान्यास प्रभावित भएको छ । अन्नपूर्ण गाउँपालिकाले ठाउँ छनोट गरिनसकेका कारण शिलान्यास गर्न सकेन । बेनी नगरपालिकाभित्रै बेनी अस्पताल छ । मालिकाको केन्द्र दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छ ।

गाउँमै अस्पताल बन्ने खबरले उत्साहित भएका स्थानीयवासी विवाद र जग्गा छनोटमा भएको ढिलासुस्तीले अलमलमा परेका दोवाका धनबहादुर पाइजाले बताए । स्थानीय तहहरूको अस्पताल बनाउन प्रस्तावित जग्गाको मूल्याङ्कनका लागि प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको समितिले सबै प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गरेको छ । अस्पताल बनाउन सरकारले अन्नपूर्ण र धवलागिरि गाउँपालिकालाई रु ७०÷७० लाख, रघुगङ्गा र मङ्गला गाउँपालिकालाई रु ८५÷८५ बजेट पठाएको छ । विवाद समाधान गरेर सबै पालिकावासीलाई पायक पर्ने ठाउँमा अस्पताल बनाउन पहल गरिएको जनप्रतिनिधिले बताएका छन् ।

प्रतिक्रिया