सेनामा एसएमजी चोरी प्रकरणः गंगाधर ढकाललाई केन्द्रीय कारागार पठाइयो


काठमाडौं– नेपाली सेनाको हतियार चोरी गरेको र सैनिक भरत गुरुङको हत्या स्वीकार गरेका सिपाही गंगाधर ढकाललाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।

१७ भदौमा नेपाली सेनाको विशेष सैनिक अदालतले ढकाललाई जन्मकैदको फैसला सुनाएको थियो।

फैसलापछि ढकाललाई केन्द्रीय कारागार पठाइएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए। ढकालले अदालत र प्रहरीसमक्ष हतियार चोरी गरेको र भरत गुरुङको हत्यासमेत गरेको साविती बयान दिएका थिए।

गत बिहीबार उनीहरुको मुद्दामा जंगी अड्डास्थित विशेष सैनिक अदालतमा सुनुवाई भएपछि उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित रक्षासचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापा संलग्न इजलासले हतियार चोरी तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सिपाही ढकाललाई आजीवन जेल सजाय तोकेको हो।

४ पुस २०७५ मा गणबाट ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ नम्बरको एसएमजी हराएको थियो। दोस्रो विश्वयुद्धमा सहभागी ‘दि फेमस महिन्द्रदल गण’ मा कार्यरत रहेका ढकालले ४ पुस २०७५ को गणको कोतबाट हतियार चोरी गरेको बयान दिएपछि उनलाई दोषी ठहर गरेको हो।

जतिबेला सैनिक अदालतको बदमासीले फर्जी अभियोगमा ‘कोर्टमार्सल’ गरिएका दुई सैनिकहरु अढाई बर्षदेखि प्रताडित भए। बिनाकारण जेलमा उनीहरुलाई मानसिक तनावसहित ‘कोर्रा’ समेत लगाइयो। दुई वर्षसम्म अभियुक्त बनाएर सैनिक अदालतको निर्णयले उनीहरु जेलमा बस्न बाध्य भए।

७ साउनमा गुरुङको हत्यापछि घटनाले अर्कै मोड लिएको थियो। चितवनको कालीबहादुर गणबाट हराएको भनिएको एसएमजी चोरीको आरोपमा अढाई वर्षदेखि उदयपुरमा लबकुमार गुरुङ र सरोज तामाङ अनाहकमा जेल बसे।

गुरुङ हत्याकाण्डपछि अनुसन्धान गर्दै जाँदा उनीहरु निर्दोष रहेको पुष्टि भएपछि उनीहरुलाई जेलबाट रिहा गरिएको छ। हराएको भनिएको हतियार चितवनमा भएको सैनिक गुरुङको हत्यामा संलग्न ढकालको साथबाट भेटिएपछि पुरानो घटना बाहिर आएको थियो।

प्रतिक्रिया