एसएमजी चोरी प्रकरणः सैनिकद्वय गुरुङ र तामाङ आजै जेलबाट छुट्ने


काठमाडौं – नेपाली सेनाको चितवनस्थित कालीबहादुर गणबाट एसएमजी चोरीको आरोपमा जेल परेका दुई सैनिक आज रिहा हुँदैछन् । सैनिक विशेष अदालतले सो चोरी प्रकरणमा सैनिकद्वय लवकुमार गुरुङ र सरोज तामाङ निर्दोष रहेको फैसला गरेपछि शुक्रबारै जेलबाट छुट्ने भएका हुन् ।

चितवनस्थित कालीबहादुर गणबाट एसएमजी हतियार चोरीको आरोपमा साढे दुई वर्षदेखि जेल परेका सैनिकद्वय गुरुङ र तामाङले पुनरावेदन गरेको मुद्दामा सैनिक विशेष अदालतले निर्दोष ठहर गरेपछि आजै रिहा हुने भएको सैनिकद्वयका तर्फबाट बहस गरेका अधिवक्ता सोमनाथ ढुंगानाले अनलाइनन्यूज७सँग भने ।

बिहीबार उनीहरुको मुद्दामा जंगी अड्डास्थित विशेष सैनिक अदालतमा सुनुवाई भएपछि उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित रक्षा सचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापा संलग्न इजलासले हतियार चोरी तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सिपाही गंगाधर ढकाललाई आजीवन जेलसजाय तोकेको सैनिक स्रोतले बतायो।

त्यसअघि २०७६ वैशाख ६ गते सैनिक अदालतले लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्ष जेलसजाय तोकेको थियो। सेनाको गणबाट हराएको भनिएको हतियार चितवनमा एक सैनिकको हत्यामा सैनिककै जवान ढकालले प्रयोग गरेको र उक्त हतियार पनि ढकालले नै चोरेको पुष्टी भएपछि आरोपीद्वय गुरुङ र तामाङ निर्दोष ठहरिएका हुन् ।

 

 

प्रतिक्रिया