गंगाधरलाई सजाय तोक्दै जेलमा रहेका दुई सैनिक निर्दोष रहेको अदालतको ठहर


काठमाडौं – नेपाली सेनाको विशेष सैनिक अदालतले सहकर्मीको हत्या आरोप र चितवनस्थित कालीबहादुर गणबाट हतियार ‘एसएमजी’ चोरी प्रकरणमा सिपाही गंगाधर ढकाललाई आजीवन जेलसजाय सुनाउँदै अढाई वर्षदेखि जेलमा रहेका दुई सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई निर्दोष ठहर गरेको छ।

बिहीबार उनीहरुको मुद्दामा जंगी अड्डास्थित विशेष सैनिक अदालतमा सुनुवाई भएपछि उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित रक्षा सचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापा संलग्न इजलासले हतियार चोरी तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सिपाही ढकाललाई आजीवन जेलसजाय तोकेको सैनिक स्रोतले बतायो।

ढकालले आफ्नै साथी नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या गरेको भन्दै सैनिक अदालतले दोषी ठहर गरेको हो।

सैनिक स्रोतका अनुसार बिहीबार भएको बहसपछि सैनिकद्वयलाई सफाई दिँदै तीन वर्षसम्म बढुवा रोक्ने आदेश दिएको छ। सैनिक समरी जनरल अदालतले गरेको निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए। ६ वैशाख २०७६ मा सैनिक अदालतले लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्ष जेलसजाय तोकेको थियो।

४ पुस २०७५ मा गणबाट ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ नम्बरको एसएमजी हराएको थियो। दोस्रो विश्वयुद्धमा सहभागी ‘दि फेमस महिन्द्रदल गण’ मा कार्यरत रहेका ढकालले मिति ४ पुस २०७५ को गणको कोतबाट हतियार चोरी गरेको बयान दिएपछि उनलाई दोषी ठहर गरेको हो।

सैनिक अदालतको बदमासीले फर्जी अभियोगमा ‘कोर्टमार्सल’ गरिएका उनीहरु दुई बर्षदेखि प्रताडित भए। बिनाकारण जेलमा उनीहरुलाई मानसिक तनावसहित ‘कोर्रा’ समेत लगाइयो। दुई वर्षसम्म अभियुक्त बनाएर सैनिक अदालतको निर्णयले उनीहरु जेलमा बस्न बाध्य भए।

सैनिक जवान ढकालले बयानमा आफूले चोरेको भनेपछि सैनिक अदालतमाथि प्रश्न उठेको छ।

आज नेपाली सेनाले घटनाबारे सबै सत्यतथ्य सार्वजनिक गर्दैछ।

0000

जुन हतियार चोरी गरेको अभियोगमा लबकुमार र सरोजलाई सजाय दिइएको थियो, त्यही हतियार गत ७ साउनमा चितवनमा भएको सैनिक गुरुङको हत्यामा संलग्न ढकालको साथबाट भेटिएपछि पुरानो घटना बाहिर आएको थियो।

ढकालले गणबाट चोरी गरेको हतियारले हानेर गुरुङको हत्या गरेका थिए। गुरुङको हत्यापछि गणबाट हराएको भनिएको हतियार ढकालको साथबाट फेला परेपछि कोर्टमार्सल’ भई जेलमा रहेका उनीहरू निर्दोष रहेको र उनीहरूलाई व्यक्तिगत रिसइबीका कारण फसाइएको कुरामा दुईमत छैन।

अब जेलमा रहेका लबकुमार र सरोज निर्दोष रहेको पुष्टि भएपछि हतियार चोरीलगत्तै गठित अनुसन्धान टोलीमाथि भर्खरै प्रधानसेनापतिका नियुक्त भएका प्रभुराम शर्माले कस्तो कदम चाल्लान्? त्यो हेर्न बाँकी छ।

त्यस्तै तत्कालिन अदालतका अध्यक्ष सहायक रथी सहदेव खड्काको फैसलाले जेल गएका उनीहरुलाई त्यसको क्षतिपूर्ति सैनिक अदालतले कसरी दिनसक्छ? बिनाकारण थुन्ने र मानसिक तनाव दिने सैनिक अदालतको फैसलाले सेनाको संगठन प्रमुखमाथि प्रश्न तेर्सिएको छ।

उनीहरुलाई हतियार ‘एसएमजी’ चोरीको आरोपमा समरी जनरल सैनिक अदालतका तत्कालिन अध्यक्ष सहायक रथी खड्काले लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्ष जेलसजाय तोकेका थिए।

अढाई वर्षदेखि हतियार चोरेको आरोपमा जेलमा रहेका लबकुमार र सरोज चितवन कारागारमा छन्।

प्रतिक्रिया