कतार प्रहरीको जागिर लगाउने नाममा यसरी लुट्छन् म्यानपावर, ठूलो गिरोह सक्रिय रहेको आशंका


काठमाडौं– श्रमस्वीकृत बन्द भए पनि वैदेशिक रोजागारीमा पठाउने नाममा म्यानपावर कम्पनीले ठूलो गिरोहसँग मिलेर कतार प्रहरीमा लगाइदिने आश्वासनमा लाखौं रकम संकलन गरेको रहस्य खुलेको छ।

कतारकै अधिकारी, नेपाल सरकारका विभिन्न निकायसँगको मिलोमतोमा कतार प्रहरीमा लगाइदिने बाहनामा मनपरी रकम उठाइएको हो। भिसा लगाएको खण्डमा ५५ सय रियालसम्म लिएर सर्वसाधारण नेपालीलाई ठगी गरिएको तथ्य खुलेको हो।

कतार प्रहरीका लागि जाने नेपालीलाई फ्रि भिसा, फ्रि टिकटै व्यवस्था छ। उच्च स्रोतका अनुसार अहिले होप इन्टरनेशनल म्यानपावर कम्पनीलगायतले बजारमा कतार प्रहरीमा जान चाहने व्यक्तिसँग ८ देखि ११ लाखसम्म रकम असुल्दै आएका छन्। वैदेशिक रोजगार विभागले छापा मारेपछि होपसहित तीनवटा म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा समेत ल्याइएको छ।

एसओएस, डीडी ह्युमन रिसोर्स म्यानपावर कम्पनीलाई पनि कारबाही गरिएको विभागले जनाएको छ। नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले कारबाही गरेको हो। कतारले वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूमा छापा मारेको थियो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले सोमबार र मंगलबार एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा छापा मारेको थियो ।

 होप इन्टरनेसनलमा कतारी दूतावासको कूटनीतिक सवारीसाधनसमेत भेटिएको थियो। कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागले अपारदर्शी ढंगबाट छनोट गरिएका म्यानपावर कम्पनीमार्फत जम्मा पारिएका युवासँग सोमबारै अन्तर्वार्ता लिन सुरु गरेको थियो । अन्तर्वार्ता लिन कतारका कर्णेलको नेतृत्वमा टोली काठमाडौंमा आएको छ ।

‘यहाँका म्यानपावर कम्पनी र उताका अधिकारीको मिलोमतोमा नै यस्तो काम हुन्छ। अहिले कतारमा श्रमशक्ति पठाउने काम नै भएको थिएन’, उच्च स्रोतले भन्यो। होप इन्टरनेशनल यसअघि पनि अवैधानिक काम गरेको भनी कारबाहीमा परेको थियो। उसले कतार पठाउने नाममा ५ लाखका दरले रकम उठाएको थियो।

यसैबीच राज्यलाई समेत छल्ने हिम्मत साथ गरिएका अनधिकृत काममा कतार र नेपालका ठूलो गिरोह सक्रिय रहेको आशंका गरिएको छ। यस्तो काममा राजनीतिक उच्च तहको संलग्नतासहित कतारका अधिकारीको पनि सहभागीता हुने गरेको छ। जसको समन्वय म्यानपावर कम्पनी र सञ्चालकले गर्दै आएका छन्।

प्रतिक्रिया