

आलमले चार पटक हटाएको ‘थुनामुक्ति’ निवेदन देउवा प्रधानमन्त्री हुनासाथ सर्वोच्चमा चढाए
जिल्ला र पुनरावेदनले नसुनेको अफताब आलमको निवेदन शुक्रबार पेशीमा छ, कस्तो आदेश आउला?

काठमाडौं– नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमको जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले नकारेको थुनामुक्तिको निवेदन सर्वोच्च अदालतले शुक्रबारका लागि पेशीमा चढाएको छ।
०६४ को संविधानसभा निर्वाचनका बेला इटाभट्टामा मान्छेलाई जिउँदै हालेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका आलमले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुनासाथ धरौटीमा रिहा हुनेगरीको निवेदन सर्वोच्च अदालतमा हालेका हुन्।
जिल्ला अदालत र उच्च अदालतमा दुवैले धरौटीमा छाडी मुद्दा चलाउन अस्वीकार गरेको निवेदन सर्वोच्च अदालतमा शुक्रबारको पेशीका लागि चढाउनुलाई शंकास्पद र अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रधानमन्त्री हुनुअघि देउवाले रौतहटमा पुगेर आलमलाई जसरी पनि रिहा गराउने सार्वजनिक मञ्चबाट नै भाषण गरेका कारण शंकास्पद रुपमा हेरिएको छ। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा चार पटकसम्म सर्वोच्च अदालतमा पेशीबाट आफैं फिर्ता लिएको निवेदनलाई आलमले अहिले चढाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
देउवा सरकार बनेपछि सर्वाधिक आलोचित र विवादमा रहेको आलम प्रकरणको मुद्दा सर्वोच्चमा चढ्नुलाई निक्कै मिहिनताका साथ हेरिएको छ। यस प्रकरणमा देउवाको त्यसबेलाको अभिव्यक्तिले पनि अर्थ राख्ने बताइएको छ।
स्रोतले भन्यो,‘थुनामा रहेको अभियुक्तले यसप्रकारको मुद्दामा दुई पटक मात्र निवेदन फिर्ता लिन पाउँछ। तर, अफताबले चार पटक यसरी फिर्ता लिएका थिए। अब फेरि शुक्रबारका लागि निवेदन दिएका छन्, यो फिर्ता हुन सक्तैन तर शंकास्पदचाहिँ भयो।’
ओली सरकारका पालामा अफताबका अपराधलाई पुष्टि गर्दै प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। जसमा जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो।
के थियो अफताबका अपराध
१४ वर्ष पहिले भएको राजपुर बमकाण्डको आरोपमा अफताब पक्राउ गरिएका थिए।
२७ चैत, ०६४ मा सो घटनाका प्रत्यक्षदर्शी समसुल मियाँले बयान दिएका थिए। घटनामा घाइते भएकाहरुलाई इँटाभट्टासम्म लगेको आफूले देखेको दाबी गरेका थिए जहाँ समसुलका ज्वाइँ ओशी अख्तरसमेतलाई मारिएको थियो।
चन्द्रनिगाहपुरबाट घर पुग्नासाथ साँझ ज्वाइँ ओशी अख्तरलाई बोलाउन राजपुरतिर हिँडेका समसुलले राजपुर पुग्नुभन्दा अघि नै बाटोमै बिष्फोटको ठूलो आवाज सुनेको बताएका थिए।
राजपुर गाउँ पुग्नासाथ गाउँमा मानिसहरु यताबाट उता दौडिरहेको उनले देखेका थिए। उनलाई राजपुरकै सेराजुलले गाउँमा बम विष्फोट भएको बताइएको थियो। आफ्नै आँखा अगाडि बम विष्फोट भएको र त्यसमा तिम्रो ज्वाइँ ओशी अख्तर पनि परेको भन्दै समसुललाई गाउँलेले सुनाएका थिए।
घटनास्थलमा कसैलाई जान नदिएको र त्यहाँको माहोल हेर्दा कसैले देखेपछि आफूलाई पनि मार्छन् भन्ने डरका कारण धेरैबेरसम्म गहुँबारीमा लुकेको उनको बयान थियो।
राति इँटाभट्टामा भएका काम गर्ने मान्छेहरुलाई घर पठाएर घाइतेहरुलाई आगोमा पोलिएको उनले बताए। रातिको समयमा सशस्त्र प्रहरीका तत्कालीन एसपीसमेत सोही स्थानमा रहेको उनको दाबी थियो।
आलमको निर्देशनमा बनाइएको बम विस्फोट भएपछि त्यसमा संलग्नलाई नामेट पार्न इटाभट्टामा हालिएको थियो।
महताबको पक्राउ
नरसंहारका मुख्य योजनाकार मानिएका मोहम्मद महताब आलम २२ मंसीरमा पक्राउ परेका छन्। प्रदेश–२ प्रहरी कार्यालयले महताबलाई रौतहटको नेपाल–भारत सीमानामा पर्ने बोधीमाई नगरपालिका–७, बड्की बंकल क्षेत्रबाट पक्राउ गरेको थियो।
आलम पक्राउ परेको करीब १४ महीनापछि महताब पक्राउ परेका थिए। महताब पूर्वमन्त्री अफताबका सहोदर भाई हुन्। २६ असोज २०७६ मा पक्राउ परेका अफताब अझै थुनामा छन्।
महताब त्यसका मुख्य योजनाकार रहेको प्रहरीको भनाई छ। अफताब पक्राउ परेपछि फरार रहेका महताब प्रहरीको आठ महीना लामो निरन्तरको प्रयासपछि पक्राउ परेका हुन्। महताब कसरी पक्राउ परे ?
महताबलाई पक्राउ गर्न प्रदेश–२ प्रहरी कार्यालयले आठ महीना अघिदेखि टोली परिचालन गरेको थियो। आठ महीना पहिलेदेखि उनलाई पक्राउ गर्न टोली खटाएको प्रदेश–२ प्रहरी कार्यालयले भारतमा समेत आफ्नो टोली परिचालन गरेको पाइएको छ।
गत वैशाखदेखि नै महताबलाई पछ्याइरहेको प्रहरीले ८ जेठमा उनी रौतहट, राजपुर नगरपालिका–४ स्थित घरमा आएको सूचनाका आधारमा छापा मारेको थियो।
प्रदेश–२ प्रहरी कार्यालयले बाराको सिमरास्थित इलाका प्रहरी कार्यालयका प्रमुख, डीएसपी गोविन्द पुरीको नेतृत्वमा पठाएको टोलीले उनको घरलाई चारैतिरबाट घेरेको थाहा पाएपछि गाउँलेले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। करीब डेढ सय प्रहरी त्यसपछि १७ राउन्ड हवाई फायर गरेर त्यहाँबाट फर्केका थिए।
महताब भारतमा बसेको सूचना पाएपछि प्रदेश–२ प्रहरी कार्यालयले भारतका विभिन्न शहरमा उनलाई खोजी गर्न टोली खटायो। त्यहीबीचमा उनी मुम्बईमा भएको सूचना आएपछि प्रदेश प्रहरी कार्यालयको एक टोली मुम्बई पुगेर करीब १५ दिनसम्म खोजी गरेको तर नभेटिएको ती प्रहरी अधिकृतले बताए।
त्यहीबीचमा उनी बिहारको शिवहरस्थित आफ्ना दाजु अफताबका सम्धि, त्यहाँका विधायकसमेत रहेका मोहम्मद सफरुदीनको घरमा रहेको सूचना आएपछि प्रहरी शिवहर पनि पुग्यो। तर, सफरुदीनको घरबाट उनलाई पक्राउ गर्न सम्भव भएन।
त्यहीक्रममा भारतीय प्रहरीको सहयोग लिएर बिहारकै मोतिहारीस्थित ब्लु डायमन्ड होटलबाट महताबलाई प्रहरी सफल भयो। महताब पक्राउ पर्दा उनीसँग हतियारधारी अंगरक्षक र सहयोगीसमेत रहेको, अंगरक्षक र सहयोगीलाई भने भारतीय प्रहरीले आफ्नो नियन्त्रणमा राखेको प्रहरीले जनायो।
प्रहरीले इँटाभट्टाका कामदार मुक्ति साह, इँटाभट्टाका मुन्सी बद्री सहनीलाई पक्राउ गरेको थियो। पक्राउ परेका सहनी र साहलाई अदालतले तारेखमा रिहा गरेको थियो।
शेष सराजको पक्राउ
नरसंहारमा संलग्न रहेका फरार अभियुक्त शेष सरोज भन्ने शेष सराजलाई प्रहरी पक्राउ गरी मुद्दा चलाएको थियो। नेपाल–भारत सिमानामा लुकेर बस्दै आएका थिए, सराज ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ८ बाट पक्राउ गरिएका उनी पनि पूर्पक्षका लागि थुनामा छन्। सराजले रौतहट घटनाका घाइते र मृतकलाई बोरामा राखेर ट्याक्टरमा लोड गरी ईट्टाभट्टमा जलाएको बयानमा स्वीकार गरेका थिए। सराजले सो कार्य पूर्वमन्त्री आलमको निर्देशनमा गरेको बयान दिएका छन् । ०६४ सालको निर्वाचनमा बम बनाउने क्रममा शेख ईद्रिसको गोठघरमा चैत १२ गते बम विष्फोट हुँदा त्रिलोकप्रताप सिंहसहित १५–१६ जना घाइते तथा २–३ जनाको मृत्यु भएको थियो।

