

कछुवा बेच्न हिँडेका तीन जना पक्राउ

काठमाडौं – संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न हिँडेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।
सिआइबीको टोलीले उनीहरुलाई काठमाडौंको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट पक्राउ गरेको हो । संरक्षित वन्यजन्तु अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुका साथबाट जिउँदो कछुवासमेत बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको ब्यूरोले जनाएको छ ।

