डिआईजीको नाम बेच्दै मिटरब्याजमा लगानी गर्ने गणेश उप्रेती!

सिआईबीद्वारा १९ करोडको चेकसहित उप्रेती पक्राउ


काठमाडौं – मिटरब्याजले निक्कैको उठिबास भएको छ। नेपाल प्रहरीका उच्च अधिकृतहरुको संरक्षणमा अवैध रुपमा सञ्चालन हुने मिटरब्याजको धन्दाबाट दर्जनौँ व्यक्ति विस्थापित भएका उदाहरणहरु प्रशस्त छन्। सर्लाहीका श्याम परदेशी भनिने श्यामकृष्ण साहबाट पीडित हुने व्यक्तिहरुको संख्या करिब ३ सयजना थिए।

मिटरब्याज तिर्दा–तिर्दा टाट उल्टेर घरबारविहीन मात्र भएका पीडितहरुले परदेशीलाई पक्राउ गरेर कारबाही हुनुपर्ने माग राख्दै काठमाडौंमा आएर प्रधानमन्त्री कार्यालयदेखि काठमाडौं उपत्यकाको चोक–चोकमा धर्ना दिएर बसे। जतिबेला परदेशीलाई राजनीतिक शक्तिको आड र नेपाल प्रहरीका केही कर्मचारीको सहयोग थियो।

परदेशीबाट २ सय ९९ स्थानीयले १ करोड ९ लाख २१ हजार ऋण लिएका थिए। तर, साँवा तिरिसक्दा पनि नक्कली तमसुक बनाएर पटकपटक गरी ६ करोडभन्दा बढी असुलेको आरोपमा अन्ततः प्रहरीले परदेशीलाई २०७६ भदौमा मिटरब्याजी धन्दाबाट आपराधिक आर्जन गरेको कसुरमा पक्राउ गरेरै छाड्यो। हाल उनी जेलमै छन्।

माथिको एउटा उदाहरण मात्र हो। यसरी नै चर्को मिटरब्याजमा पैसा लगानी गरेर ठगी गर्नेहरु नेपालमा धेरै छन्। राजनीतिक दलका केही नेता, केही प्रहरी र शक्ति केन्द्रको आडमा आपराधिक घटनामा संलग्न व्यक्तिहरू सक्रिय रहेको बुझिएको छ।

मेलुङ–१ दोलखा घर भई हाल भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेती पनि मिटरब्याजीको नाइके हुन्। उप्रेतीले पनि कयौैंलाई घर न घाटको बनाएको पाइएको छ।

उनै उप्रेतीलाई गत शुक्रबार साँझ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले चर्को ब्याजमा ऋण दिएर ठगी गरेको आरोपमा चाबहिल मित्रपार्कबाट पक्राउ गरेको छ। १९ करोड रुपैयाँ बराबरको विभिन्न बैंक÷वित्तीय संस्थाका चेकसहित उप्रेती पक्राउ परेका हुन्।

सिआईबी स्रोतकाअनुसार शुक्रबार राति पक्राउ परेका उप्रेतीको पनि केही प्रहरी अधिकारीसँग हिचमिच थियो। प्रहरी अधिकारी र शक्ति केन्द्रनजिकको आडमा उप्रेतीले राज्यलाई नै चुनौति दिनेगरी अर्बौंको ठगी निर्वाध रूपमै गरिरहेको खुलेको छ।

उप्रेतीले केही प्रहरीको अवैध कमाइ मिटरब्याजमा लगाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अनुसन्धानको क्रममा मिटरब्याजी उप्रेतीले नेपाल प्रहरीका बहालवाला एकजना डिआईजीको नाम बेच्दै चर्को ब्याजमा ऋण दिएर ठगी गर्ने गरेको खुलेको हो। डिआईजीको नाम गोप्य राखेर अनुसन्धान भइरहेको सिआईबी स्रोतले जनायो।

गाडी तथा मोटरसाइकलको रिकण्डिसन सञ्चालन गर्ने उप्रेतीले डिआईजीको रकम समेत मिटरब्याजमा लगानी गर्थे। बहालवाला डिआईजीको आडमा उप्रेतीले १ करोडको एक दिनको १ लाख रुपैयाँसम्म उठाउने गरी मिटरब्याजको धन्दा चलाउने गरेको खुलेको प्रहरीको भनाइ छ।

‘……डिआईजीको मान्छे हुँ भन्दै उप्रेतीले चर्को ब्याजमा ऋण दिने गरेको खुलेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘पछि तोकिएको समयमा रकम नदिए गुण्डागर्दी शैली अपनाएर पैसा असुल्ने गरेको पाइएको छ।’ विशेषतः उप्रेतीले जुवा खेल्ने मान्छेहरुलाई मिटरब्याजमा लगानी गर्ने गरेको पाइएको छ।

गाडी तथा मोटरसाइकलको रिकण्डिसन व्यापारी समेत रहेका उप्रेतीले विभिन्न व्यक्तिबाट आकर्षक ब्याज दिने प्रलोभनमा रकम लिने गरेको र नतिरेर ठगी गरेको पाइएपछि फरार अवस्थामा उनलाई पक्राउ गरेको सिआईबीका निर्देशक प्रहरी नायब महानिरीक्षक (डिआईजी) धीरज प्रताप सिंहले बताए।

उप्रेतीबाट दुई जनाले गत चैतमा ४ करोड १९ लाख रुपैयाँ लिएका थिए। तर ऋणीलाई धम्क्याएर उनले ८ करोड ३० लाखको चेक लिए। मित्रपार्कमै ‘रिकन्डिसन हाउस’ सञ्चालन गरेका उप्रेतीले दोलखा मेलुङ घर भई भक्तपुर ठिमी बस्ने ४० वर्षीय प्रकाश कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋण दिएका थिए।

त्यसबापत उप्रेतीले १ करोडको प्रतिमहिना १५ लाख ब्याज तोकेका थिए । तर, कार्कीलाई उनले राष्ट्र्रिय वाणिज्य बैंकको ४ करोड १६ लाख रुपैयाँको चेक काट्न लगाए। उप्रेतीले कार्कीलाई यसैगरी प्रलोभनमा ब्याजमा ऋण दिए तर दोब्बर रकमको चेक काट्न लगाए । त्यही चेकलाई साँवासँगै जोडेर हिसाब गरे।

यसैगरी रामेछाप गोकुलगंगा घर भई कोटेश्वर बस्ने ६० वर्षका हेमराज गुभाजूलाई उप्रेतीले १ करोड ५४ लाख रुपैयाँ दिएका थिए। ऋण दिँदा महिनाको १ करोडको १५ लाख रुपैयाँ ब्याज तोकिएको थियो तर गुभाजूबाट चेक भने ४ करोड १४ लाखको लिए। कार्कीलाई जस्तै गुभाजूलाई पनि त्यहि गरे।

उप्रेतीले मिटरब्याज लगाएका ऋणीहरुलाई ज्यान मार्ने धम्की दिने, बन्धक बनाउने, वैदेशिक रोजगारीमा पठाइदिने भन्दै महंगो पैसा असुल्नेलगायतको धन्दामा संग्लन भएको सीआईबी स्रोतले जनाएको छ। पक्राउ परेका उप्रेतीमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइने डिआईजी सिंहले बताए।

‘१ करोड रुपैयाँको दिनमा १ लाखसम्म ब्याज तिर्नुपर्ने गरी विभिन्न व्यक्तिलाई मिटरब्याजमा रकम लगानी गर्ने र तोकिएको मितिमा रकम नपाए गुन्डा लगाएर असुल्नेसम्मका अपराधमा उप्रेतीको संलग्नता देखिन्छ,’ डिआईजी सिंहले भने, ‘उप्रेतीबाट अरू पनि पीडित भएको भए उजुरी दिन आह्वान गर्छु।’

उप्रेतीले यस प्रकारका ठगी थुप्रै गरेको हुनसक्ने सिआईबीको भनाइ छ। पक्राउ परेका उप्रेतीसँग कामना सेवा विकास बैंकका थुप्रै चेकहरु बरामद भएको छ। स्रोतका अनुसार कामना सेवा विकास बैंकका कर्मचारीहरुसँग मिलेर कर्जा र लिलामी धन्दामा उनी संग्लन भएको रहेको आशंका गरिएको छ।

उप्रेतीले मिटरब्याजकै धन्दा गरेर अर्बौं रुपैयाँको सम्पती जोडेका छन्। यसअघि पनि उप्रेतीले प्रहरीका उच्च अधिकारीहरुलाई हात लिएर गैरकानुनी काम गरेको हुनसक्ने प्रहरीको दाबी छ। यस्ता व्यक्तिहरुको सम्पत्ति छानबिन हुन जरुरी छ।

प्रतिक्रिया