

सङ्ग्रहालयका सामग्रीको संरक्षण चुनौतीपूर्ण बन्दै

हरि बाँस्तोला(रासस)
गण्डकी–विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको लामो समयको बन्दाबन्दीका साथै स्वास्थ्य सुरक्षा सजगतालाई लक्षित गरी बन्द गरिएको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अहिलेसम्म पनि खुला गरिएको छैन । सङ्ग्रहालय नखुल्दा पर्यटकबाट हुने आम्दानी त भएन नै त्यहाँ राखिएका सामग्रीको संरक्षण अझ चुनौतीपूर्ण बनेको छ ।
सरकारले सङ्ग्रहालय सञ्चालनमा लगाएको रोक खुला नगरेका अवस्थामा कठिन परिस्थितिका बाबजुद लामो समय खर्चेर सङ्ग्रहालयमा सङ्कलित एवं निर्मित महत्वपूर्ण तथा ऐतिहासिक सामग्री विभिन्न प्रकोपबाट जोगाउन मुस्किल भएको हो ।
पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित हिमाल र हिमालीका बारेमा एउटै छानामुनि अध्ययन–अवलोकन गरिने अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सङ्कलन गरी प्रदर्शनमा राखिएका सामग्रीको संरक्षण चुनौतीपूर्ण रहेको नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार सङ्ग्रहालयमा मानिसको आवतजावत कम भएसँगै सङ्ग्रहित सामग्रीमा मुसा, साङ्लालगायतका किरा तथा ढुसी लाग्ने प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपबाट बचाउन दैनिक सरसफाइलगायत किटनाशक औषधि प्रयोग गर्दै आएको उनले बताए । सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भए÷गरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुलगायतको प्रदर्शन गरिएको छ ।
करिब साढे चार रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।
नेपाल पर्वतारोहण सङ्घले खरिद गरेको १०० रोपनी क्षेत्रफल जग्गामा पैmलिएको सङ्ग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरूप निर्माण गरिएको बताउँदै उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षणको केन्द्र बनेको जनाएको छ ।
विगतमा दैनिक अवलोकनकर्ताले भरिभराउ भएका कारण टिकट काट्ने, चेक गर्ने र गाइडहरू र सरसफाइका कर्मचारीहरू व्यस्त देखिने सङ्ग्रहालय २०७६ चैत ११ देखि २०७७ मङ्सिरको शुरु अवस्थासम्म सुनसान छ । त्यसबाट सङ्ग्रहालयलाई करोडौँको घाटा परेको महासचिव गुरुङको भनाइ छ । सङ्ग्रहालयमा हिमाल आरोहणमा प्रयोग भएका विभिन्न सामग्रीका साथै विगतलाई स्मरण गराउने तस्बिरसमेत प्रदर्शन गरिएको छ ।
सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमका अनुसार सङ्ग्रहालयमा सङ्ग्रह गरिएका पुरातात्विक महत्वका सामग्रीको सुरक्षा र सरसफाइका लागि विगतमा दैनिक चार कर्मचारीको व्यवस्था गरिएकामा बन्दाबन्दीको समयमा सबै कर्मचारी आलोपालो गरेर खटिएका छन् । ‘भदौदेखि मङ्सिरसम्म सङ्ग्रहालयमा जात्रा लागेको जस्तै देखिन्थ्यो’, उनले भने, ‘यतिखेर सुनसान सङग्रहालयमा पछिल्लो समय पर्यटक गेटमा आएर बन्द भएपछि फर्कने गरेका छन् ।’ बन्द भएका कारण मङ्सिर ३ गते बुधबार मात्र अवलोकन गर्न आएका १५ जनाको टोली फर्कियो ।
पर्यटकीय नगरी पोखराको दक्षिणी भेगमा पर्ने सङ्ग्रहालयस्थलबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि, लमजुङलगायतका हिमशिखर दृश्यावलोकन गर्न सकिन्छ । पोखराको मौसम सफा भई चाँदीजस्तै टलक्क टल्कने हिमालको दृश्यावलोकन तथा आकाशमा चराजस्तै गरेर उड्ने प्याराग्लाइडिङलगायतका विभिन्न साहसिक खेलमा व्यवसायीले छुट दिएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
कोरोनाका सङ्क्रमणका बाबजुद लामो समयपछि भ्रमणका लागि बाहिर निस्केका पर्यटक सङ्ग्रहालय बन्द हुँदा गेटमा पुगेर यात्रा अधुरो भएको अनुभव सुनाउँदै फर्कने गरेका छन् । पोखरा र आसपासमा अन्तर्राष्ट्रिय सङ्ग्रहालयसहित पोखरा क्षेत्रीय सङ्ग्रहालय, सिग्लेसस्थित गुरुङ जातिका विविध पक्ष समेटिएको इको म्युजियम, पृथ्वीनारायण क्याम्पसस्थित सङ्ग्रहालय आदि रहेका छन् । यी सबै सङ्ग्रहालयमा यतिखेर सङ्कलित सामग्री संरक्षण गर्नु गम्भीर चुनौती बनेको सङ्ग्रहालयका सञ्चालकहरू बताउँछन् ।

