
मूर्तिकार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा ठूलो क्षति
काठमाडौं – नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकला क्षेत्रका सिद्धहस्त कलाकार, वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । महासङ्घले सोमबार आयोजना गरेको श्रद्धाञ्जलिसभाका वक्ताले नेपाली हस्तकला क्षेत्रको विकासमा वरिष्ठ कलाकार शाक्यको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
सानै उमेरदेखि कला क्षेत्रमा सङ्लग्न वरिष्ठ कलाकार स्व शाक्यले नेपाली परम्परागत हस्तकला विधालाई संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्नका लागि आफूमा भएको सीप र परम्परागत प्रविधि हस्तान्तरण गरी युवापुस्तालाई स्वरोजगार तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले स्मरण गरेका छन्।
‘स्व. शाक्यले आफ्नो अनुपम र अद्वितीय कलाकृति नेपाल र नेपालीको नाममा अन्तर्राष्ट्रिय जगत्मा चिनारी गराउनुका साथै नेपाली कला र संस्कृतिको पहिचानमा अत्यन्त ठूलो भूमिका खेलेका थियो’, अध्यक्ष शाक्यले बताएका छन्। स्व. शाक्यले भुटानको ताकिल्ला हिलमा १५५ फिट अग्लो पद्मसंभवको मूर्ति निर्माण गरेका थिए ।
उक्त मूर्ति निर्माणसँगै शाक्यलाई हस्तकला महासङ्घले विसं २०७० को उत्कृष्ट कलाकार घोषणा गर्नुका साथै नेपाल सरकारले गोरखा दक्षिणबाहु र राष्ट्रिय प्रतिभा पुरस्कारलगायत विभिन्न पदकबाट सम्मान गरेको थियो ।
कार्यक्रममा महासङ्घ कला तथा शिल्प परिषद्का सल्लाहकार सागरशम्शेर जबरा, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरी, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयस
खनाल, वाग्मती प्रदेशसभा सदस्य शोभा शाक्यलगायतले कलाकार शाक्यको निधनले नेपालको हस्तकला क्षेत्र टुहुरो भएको बताएका छन् । वरिष्ठ कलाकार शाक्यको जेठ २२ गते कोरोना सङ्क्रमणका कारण निधन भएको थियो ।



कागजपत्र |
