‘कसैको धम्की’ले असई मणिकान्त झालाई महारागञ्जबाट हटाइयो


काठमाडौं – महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत सहायक निरीक्षक (असई) मणिकान्त झा कार्यालय प्रमुखले रुचाइएको प्रहरी हुन्। असई झाको कार्यसम्पादन समेत राम्रो छ।

तर, अचानक असई झाको सरुवा भएको छ। असई झालाई लखेटेर महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) पठाइएको छ। झा महाराजगञ्ज वृत्तमा सरुवा भएर आएको ६ महिना पनि पूरा भएको थिएन।

यद्यपी असई झाको नियमित सरुवा नभएर काज भएको प्रहरी स्रोतले पुष्टि गरेको छ। नियमित सरुवा अन्तर्गत झा बग्गीखाना गएको दाबी गरे पनि काज सरुवा नियमित सरुवा अन्तर्गत पर्दैन। नियमित सरुवा हुन कम्तीमा १ वर्ष पुगेको हुनुपर्छ।

असई झालाई ६ महिना नपुग्दै सरुवा गर्नुको कारण भने प्रहरीले खुलाएको छैन। असई झाको सरुवा ‘कसैको धम्की’पछि भएको प्रष्ट छ। केही दिनअघि सामाजिक सञ्जालमा असई झालाई ‘सरुवा गरिदिन्छु’ भन्दै धम्की दिएको भिडियो भाइरल भएको थियो।

भिडियोमा एक युवतीले बर्दीमा रहेका प्रहरीलाई प्रहरी चौकीभित्रै थर्काएको सुनिन्छ। ती युवती हुन्, आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला। संग्रौलाले असई झालाई ‘एनि हाउ’ सरुवा गराइदिने चेतावनी दिएकी थिइन्। आज साँच्चिकै असई झाको सरुवा भएको छ।

ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज स्रोतका अनुसार झा कोटेश्वरबाट महाराजगञ्जमा सरुवा भएर आएको करिव ६ महिना नपुग्दै सरुवा भएको हो। संग्रौलाले गत ११ जेठमा असई झालाई त्यहाँबाट जसरी पनि सरुवा गराउने धम्की दिएकी थिइन्।

त्यसको दुई साता नबित्दै उनलाई महाराजगञ्जबाट सरुवा गरेर बग्गीखाना पठाइएको हो। संग्रौलाले जसरी हुन्छ सरुवा गराएरै छाड्छु भनेर धम्की दिनु, यता असई झाको सरुवा हुनुले प्रहरीको मनोबल कमजोर अवश्य हुन्छ।

असई झालाई महाराजगञ्ज ट्राफिक कार्यालयका प्रमुख रविन्द्रकुमार श्रेष्ठले रुचाएका प्रहरी हुन्। संग्रौलासहितको टोलीले ड्युटीमा खटिएका झासँग महाराजगञ्ज क्षेत्रमा वादविवाद गरेको थियो।

निषेधाज्ञाको बेला सवारी पासबेगर सवारी साधन लिएर हिँडेका उनीहरुलाई झासहितको ट्राफिक प्रहरीको टोलीले रोकेर सोधपुछ गरेको थियो। पास र चालक अनुमतिपत्र दुवै उनीहरुसँग नरहेको भेटिएपछि झाले उनीहरुको सवारी होल्ड गरेका थिए।

त्यसपछि विवाद भएपछि उनीहरुले असई झाले आफूहरुमाथि दुव्र्यवहार गरेको आरोप लगाएका थिए। प्रहरी चौकीभित्रै खिचिएको भिडियोमा ज्वालाको समूह र प्रहरीहरुबीच विवाद भएको देखिन्छ। इन्स्पेक्टर श्रेष्ठले भने विनम्र बन्दै सम्झाउने कोसिस गरेका छन्।

भिडियोमा देखिएअनुसार प्रहरी कार्यालयमा संग्रौलाको टोलीले असईको नाम सोधेपछि उनले आफ्नो नाम मणिकान्त झा भएको बताएका थिए। त्यसपछि संग्रौलासहितको टोलीले ‘झा… मधेशी…अब मधेशतिरै गएर खेतीकिसानी गर्नु। ट्राफिकको जागिर खाएर काम छैन’ जस्ता रंगभेदी शब्दसहित दुव्र्यवहार गरेका थिए।

प्रतिक्रिया