फोनमार्फत प्रशासकिय अधिकृतसँग १५ लाख फिरौती माग, कार्यालय सहयोगी पक्राउ


काठमाडौं – फोनमार्फत फिरौती रकम माग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बारा सुवर्ण गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गर्ने युवक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सोही गाउँपालिकामा कारारमा काम गर्ने कार्यालय सहयोगी बारा सुवर्ण गाउँपालिका–४ हर्दिया टोल निवासी २८ वर्षीय मुकेश प्रसाद यादव रहेको बाराका निमित्त प्रमुख एवं प्रवक्ता प्रहरी नाउब उपरीक्षक (डिएसपी) गौतम मिश्रले बताए।

यादवले श्रीवास्तवलाई एनसिएलको अपरीचित नम्बरबाट फोन तथा एसएमएस गरी १५ लाख रूपैयाँ १ घण्टाभित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भन्दै धम्की दिएका थिए।

डिएसपी मिश्रका अनुसार पटक–पटक फोन तथा एसएमएस गरी फिरौती माग गरेको भन्ने अडियोसहितको सूचना जिल्ला प्रहरी कार्यालय बाराले प्राप्त गरेपछि तत्काल अनुसन्धान टोली गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

सेवा प्रदायक कम्पनी एनसेलसँग प्राविधिक सहयोग समेत लिई अनुसन्धान गर्दै जाँदा उक्त कार्य यादवले गरेको देखिएपछि पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया