

डिआईजीको सरुवा सिफारिसः सीआईबीमा आचार्य, कुन प्रदेशमा को? (नामसहित)

काठमाडौं – गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरुको सरुवाको तयारी गरेको छ। खगराज अधिकारी गृहमन्त्रीमा नियुक्त भएको एकहप्तामै डिआईजीको सरुवा निस्कन लागेको हो।
डिआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुनेगर्छ। अनलाइनन्यूज७ लाई प्राप्त सूचनाअनुसार प्रहरी प्रधान कार्यालय नक्सालले सरुवा सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डिआईजी सहकुल बहादुर थापाको लुम्बिनी प्रदेशमा गरेको छ।
यस्तै सीआईबीमा मुकुन्द आचार्यको नाम सिफारिस भएको छ। यसअघि सीआईबीको लागि तीन डिआईजीको नाम चर्चामा थियो, उत्तम सुवेदी, धीरज प्रताप सिंह र रवीन्द्र धानुक। तर, गृहमन्त्री अधिकारीले एकपटक पनि इन्चार्ज नपाएको व्यक्तिलाई सीआईबी पठाउने अडान लिएपछि आचार्यको नाम फाइनल भएको हो।
त्यस्तै लुम्बिनी प्रदेशका डिआईजी रवीन्द्र धानुकको विशेष ब्यूरोको लागि नाम सिफारिस भएको छ। विशेष ब्यूरोको लागि २ नम्बर प्रदेशका डिआईजी धीरज प्रताप सिंहले पनि दावी गरिरेहको अवस्था छ। सिफारिस गरिएअनुसार तलमाथि केही नभए धानुकको ब्यूरोमा नै सरुवा हुनेछ।
यस्तै सिफारिसमा धीरज प्रताप सिंहको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा नै सरुवा भएको छ। २ नम्बर प्रदेशमा डिआईजी दिवेश लोहनीको नाम सिफारिस भएको छ। यसअघि लोहनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।
त्यस्तै १ नम्बरका डिआईजी ईश्वरबाबु कार्की, बागमती प्रदेशका बसन्तकुमार लामा, गण्डकी प्रदेशका घनश्याम अर्याल, कर्णाली प्रदेशका बसन्त पन्त र सुदूरपश्चिम प्रदेशका उत्तम सुवेदीको पनि सरुवा भएको छ।
सरुवा सिफारिसअनुसार १ नम्बर प्रदेशमा अरुण विसी, बागमति प्रदेशमा पुरुषोत्तम कँडेल, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, कर्णाली प्रदेशमा गणेश ऐर र सुदूरपश्चिम प्रदेशमा देब बहादुर बोहोराको सरुवा भएको छ।
यसअघि अरुण बिसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत थिए। कर्णाली प्रदेशका डिआईजी पन्तको अख्तियारमा सरुवा सिफारिस भएको छ। त्यस्तै सूदुरुपश्चिम प्रदेशका उत्तम सुवेदीको साइबर ब्यूरोमा सरुवा सिफारिस भएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
सातवटै प्रदेश, सिआईबी, अख्तियारका कार्यरत डिआईजीहरुको एक बर्ष अवधि पुगेपनि लामो समयदेखि सरुवा हुन सकिरहेको थिएन। गृह मन्त्रालय गत वैशाखमै सरुवा गर्ने तयारीमा भएपनि प्रहरी प्रधान कार्यालयकै कारण सरुवामा बिलम्ब भएको थियो।
यो पनि पढ्नुहोस्
गृहमन्त्री अधिकारीसहित सचिव न्यौपाने र आईजी क्षत्रीको बैठक, केही दिनमा नै डिआईजीको सरुवा

