हेलिकोप्टरबाट उद्दार गर्ने कर्णाली सरकारको निर्णय जनता ‘ठग्ने काम’

बिमारीलाई घोडामा अस्पताल लैजान बाध्य सर्वसाधारण, मुख्मन्त्री शाही भन्छन्– भने जस्तो सजिलो कहाँ हुन्छ र?


काठमाडौं– २ जेठमा बसेको कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले दुर्गमका जटिल कोभिड संक्रमित बिरामीलाई हेलिकोप्टरमार्फत उद्दार गर्ने निर्णय गरेको थियो। उसको निर्णय ‘डोल्पा, हुम्ला र मुगुका जटिल प्रकृतिका सङ्क्रमितहरूलाई सदरमुकाम तथा त्यहाँ उपचार हुन नसकेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेतसम्म लगिने’ थियो।

कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्धारका लागि भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच नपुग्ने जानकारी दिँदै १० जेठमा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पनि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने र कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने निर्णय गरेको थियो।

सिटामोल समेत नपाउने दुर्गम ठाउँका नागरिकहरु कोरोना संक्रमित भइन्छ कि भन्ने डर मनमा पिल्साएर बसेको बेला सरकारले हेलिकोप्टरमार्फत उद्दार गर्ने भएपछि खुसी नहुने कुरै भएन।

‘यहाँ सधैँ औषधीको अभाव भइरहन्छ। सामान्य खालका बिरामीको समेत उपचार हुँदैन,’ हुम्लाका स्थानीय जनक फडेरा भन्छन्, ‘सरकारले संक्रमितको उद्धारका लागि निःशुल्क हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय खुसीको कुरा हो।’

तर, यसरी मान्छेको मृत्यु हुँदासमेत सरकारको निर्णय कार्यान्यवनमा नआउनु दुःखद भएको फडेरा बताउँछन्। ‘यस विषयमा सरकार गम्भीर हुनुपर्दछ। जनताको जीवनको रक्षाको लागि सरकार सधैं एक कदम अगाडि हुनुपर्छ,’ उनले भने।

तर, सरकारको संक्रमित बिरामीलाई हेलिकोप्टरमार्फत उद्दार गर्ने निर्णय कार्यान्यवन भएको छैन। बिहीबार हुम्लामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिले समयमै उद्धार नपाउँदा उपचार भएन र मृत्यु भयो। उनी हुम्लामा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन्।

कोरोना पुष्टि भए लगत्तै सर्केगार्ड गाउँपालिका–२ को रिप गाउँका स्थानीय ५७ वर्षीय टोप्ले बिकलाई श्वासप्रश्वासमा समस्या भएको थियो। नजिकैको सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा देखाइयो। त्यहाँ उपचार सम्भव नहुने भएपछि उनका छोराहरुले गाउँपालिका र वडासँग उपचारको लागि उद्दार गरिदिन हारगुहार गरे।

तर, गाउँपालिका र वडाले बेवास्ता गर्दा उनको उपचारका लागि घोडामा जिल्ला अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भयो। अस्पताल लैजान बिहीबार बिहान दुई जना छोराहरुले घोडामा चढाएर दुल्ली कुना पुर्याएका थिए। त्यहाँबाट अगाडि बढ्दै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

यदि टोप्लेले समयमा उपचार पाएको भए नयाँ जीवन पाउन सक्थे। सरकारको निर्णय एकातिर, काम अर्कोतिर भइरहेको टोप्ले घटनाबाट प्रष्ट छ।

‘कोरोना संक्रमित बिरामीलाई हेलिकोप्टरबाट उद्धार गर्ने भनिएको सरकारको निर्णय आँखामा छारो हाल्ने काम हो,’ मृतकका छोरा जसबहादुर विश्वकर्माले भने, ‘बुवालाई हेलिकोप्टरबाट उद्धार गरेर थप उपचार गर्न पाएको भए बचाउन सकिन्थ्यो। तर हामी गरीब र दलित भएकै कारण उपचार र उद्धार पाउन सकेनौँ।’

के दलित संक्रमितको हकमा भने प्रदेश सरकारको निर्णय कार्यान्वयन हुन नसकेको हो? रिप गाउँबाट हुम्लाको सदरमुकाम सिमिकोट पैदल हिँडेर जान दुई दिन लाग्छ। ‘हामीजस्ता विकटका जनताका लागि सरकारी सेवा आकाशको फल आँखा तरी मर जस्तै भएको छ’, जसबहादुरले गुनासो पोखे।

गरिब भएको कारण आफै हेलिकोप्टर रिजर्भ गर्न नसकेको, तर गाउँपालिका र प्रदेश सरकारको आशा गरे पनि त्यो माग सुनुवाई नभएको मृतकका कान्छा छोरा भिम विश्वकर्माले गुनासो पोखे।

‘कोरोना संक्रमित बिरामीको उद्धार गर्न हेलिकोप्टरले साढे नौ लाख भाडा लिन्छ रे, त्यत्रो पैसा जुटाउने हाम्रो हैसियत छैन,’ उनले भने।

चाहेर पनि तत्कालै हेलिकोप्टर पठाउन नसक्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। गाउँपालिका र प्रदेश सरकारको आशा गरेका उनीहरुको माग सुनुवाई नभएको आरोप लागेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘हेलिकोप्टरको व्यवस्था गर्न पनि कार्यविधि बनाउनुपर्छ, सूचना बनाउनपर्छ। भने जस्तो सजिलो कहाँ छ र?’

चार हप्ताअघि सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई गाउँपालिका र प्रदेश सरकारले हेलिकोप्टरबाट उद्धार गरेर जुम्ला लगेको थियो।

बुधबार मात्रै कोरोना जितेर उनी बाँच्न सफल भएका छन्। धामीको प्रसंग निकाल्दा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले उनलाई सहयोग नगरेको बताए।

‘कसले के कति सहयोग गर्यो, मलाई थाहा छैन। प्रदेश सरकारले उहाँलदाई सहयोग गरेको छैन,’ मुख्यमन्त्री शाहीले भने, ‘गाउँपालिकाले सहयोग गरेको होला। उहाँले हेलिकोप्टरको कसरी व्यवस्थापन गर्नुभयो थाहा छैन।’

स्वास्थ्य संयोजक धामी र सामान्य नागरिक टोप्ले बिकको घटनाबाट प्रष्ट हुन्छ कि धनीलाई हेलिकोप्टरबाट उद्धार गरिन्छ भने गरिबलाई एउटा स्ट्रेचरको समेत व्यवस्था छैन। आफ्नो बुबाको उपचार गर्न कुनै उपाय नलागेपछि आफ्नै घरमा पालेको घोडा प्रयोग गरे।

गरिबिकै कारण जसबहादुर र भिमले आफ्नो बुबालाई गुमाउनु पर्यो। गरिबले सरकारी निर्णयको आश गरेर बस्नु मुर्खता हो। समयमै उपचार र उद्धार नभएकै कारण विभेद खेप्दै टोप्लेले यो संसारलाई छोडे।

कर्णाली प्रदेश सरकारले आश्वासन मात्र बाँड्ने गरेको स्थानीयहरुको आरोप छ। ‘सरकारले निःशुल्क दिने भनेको औषधि त पाउन मुस्किल रहेको बेला हामीजस्ता विकटका जनताका लागि सरकारी सेवा आकासको फल आँखा तरी मरजस्तै हो,’ भिमले अनलाइनन्यूजसँग भने।

कोरोना संक्रमणको दर दिनहुँ बढिरहेको छ। हुम्लामा समेत कोरोनाको प्रभाव देखिएको छ। अहिलेसम्म कसैको मृत्यु नभएको हुम्लावासीलाई समेत कोरोनाले छोडेन। कोरोनाको खोप त परैको कुरा हो, अरु अत्यावश्यक औषधी समेत नपाइने उक्त जिल्लामा सरकारले किन ध्यान दिएन? प्रश्न उठेको छ।

प्रतिक्रिया