एमाले स्थायी कमिटी बस्दै, खनाल-नेपाल समूहले पनि बैठक बोलायो


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

हिजो (बुधबार) बोलाइएको बैठक आज बिहिबार साँझ ४ बजे सम्मको लागि स्थगन गरिएको थियो । बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने कार्यसूची रहेको तामाङले बताए। गत मंगलबारको बैठकले एकताका लागि अतिकतम पहल गर्ने निर्णय गरेको थियो।

एमालेमा माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्तलगायतका केही नेता कुनै पनि हालतमा आउन नचाहेको निष्कर्षका निकालिएको छ। नेपाल समूहका केही नेताहरूलाई पार्टीमा फर्काउन अधिकतम पहल सुरु भएको छ। यस्तै हिजो सत्तारुढ नेकपा एमाले विभाजनको डिलमा पुगेपछि आपसी विवाद मिलाउन नेताहरू अनौपचारिक रुपमा सक्रिय भएका छन् ।

विभाजन रोक्न दोस्रो तहका अन्य नेताहरुले गृहकार्य गरिरहेका बेला पार्टीका महासचिव ईश्वर पोखरेलले थप अनौपचारिक परामर्श अघि बढाएका छन्। महासचिव पोखरेलले बुधबार पार्टीका नेता योगेशकुमार भट्टराईसँग छलफल गरे।

विद्यमान स्थिति र दुवै पक्षका प्रस्ताव तथा आवश्यकतालाई कसरी सम्बोधन गराउने र पार्टीलाई एकताबद्ध कायम राख्ने विषयमा छलफल भएको महासचिव एवं उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

नेता भट्टराईलगायत केही नेता नेपालनिकट मानिए पनि विपक्षीलाई प्रधानमन्त्री बनाउन गठबन्धन वा नयाँ पार्टी दर्ता गर्ने विषयमा असहमत भएकोले उनीहरु एकताका लागि अग्रसर भएका छन्।

त्यसै गरी खनाल-नेपाल समूहले पनि आज आफ्नो पक्षका स्थायी कमिटी सदस्यसँग छलफल गर्दै छ। विहान ११ बजे जुम मार्फत बैठक डाकिएको एमाले नेता युवराज ज्ञवालीले जानकारी दिए। यो समूह ओलीसँग कुनै पनि शर्त मानेर एकता नगर्ने बताउँदै आएको छ।

 

प्रतिक्रिया