अस्पतालको शैयाबाट मदनकृष्णले सम्झिए प्रेमध्वज, ‘चाँडै कोरोनामुक्त भएर भेट्न आउने सोचाईमा थिएँ, तिमी त गइसकेछौ दाई !’


काठमाडौं – बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मेडिसिटी अस्पतालको शैयाबाट बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनबाट आफू मर्माहत भएको बताएका छन् । आफू कोरोनाबाट उपचार गराइरहेको बताउँदै श्रेष्ठले कोरोनालाई जितेपछि प्रधानलाई भेट्न जाने आफ्नो चाहना पूरा नभएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कोरोनाको कारण ८ दिनसम्म मेडिसिटी अस्पताल बसेर घर फर्किसकेका श्रेष्ठ पुनः अक्सिजन कमी भएपछि मेडिसिटीमा भर्ना भएर उपचार गरिरहेका छन् ।

गायक प्रधानको निधनपछि भावविह्वल हुँदै श्रेष्ठले लेखेका छन्, ‘म फेरि मेडीसिटि हस्पिटलमा भर्ना भएकोछु। कोरोनालाई जित्छु भन्ने आत्मबिश्वास छ । चाँडै निकोहुनेछु र निको भएर हस्पिटलमा या  बागबजार घरमा तिमीलाई भेट्न आउने सोँचाईमा थिएँ तर तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ।।।… मैले मेरा आँसुका धारा थाम्न सकिंन दाई ।’

 

यस्तो छ मदनकृष्णले लेखेको फेसबुक स्टाटसः

हाई मेरो प्यारो प्रेमध्वज प्रधानदाई,
हार्दिक श्रध्दाञ्जलि छ तिमीलाई,
2026 सालमा कबि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीत मा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाईला अगाडी बढाएको थिएँ मैले।
कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी।
मनमा मानबता भएको ब्यक्ति तिमी
कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी।
मैले आफ्नु जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झेकोछु
म फेरि मेडीसिटि हस्पिटलमा भर्ना भएकोछु। कोरोनालाई जित्छु भन्ने आत्मबिश्वास छ ।
चाँडै निकोहुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमीलाई भेट्न आउने सोँचाईमा थिएँ
तर तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ…!!! मैले मेरा आँसुका धारा थाम्न सकिंन दाई ।
“गोरेटो त्यो गाउँको लौन आज”भन्ने गीत कानमा ठूलो ठूलो आवाजमा गुन्जीरहेकोछ।
माईती घरको ” नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो” गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहेकोछ।
“घुम्तीमा नआउ है आँखा तिमी जुधाउन ” भन्थ्यौ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकि रह्यो र …
तिम्रो आत्मालाई चीर शान्ती मिलोस।
हार्दिक श्रध्दाञ्जलि छ है दाई
तिमीलाई माया गर्ने तिम्रो प्यारो भाई उहि मदनकृष्ण श्रेष्ठ –
May be an image of 1 person

प्रतिक्रिया