बालिकालाई गोरखादेखि साथीले ल्याएर सुन्धारा गेष्टहाउसमा छोडे, अनि शिक्षकले गरे बलात्कार
काठमाडौं – गत २० वैशाखमा गोरखा आरुघाट नगरपालिकाकी १४ वर्षीया (सपना) नाम परिवतर्न साथीकोमा जान्छु भन्दै घरबाट निस्किइन्। साँझसम्म सपना घर नफर्किएपछि परिवारले उनको खोजी सुरु गर्न थाल्यो।
कोरोनाको कारण विद्यालय बन्द भएपछि घरमै बसिरहेकी सपना परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि बालिका सपनालाई खोजिदिनका लागि परिवारले प्रहरीमा निवेदन दिए। इलाका प्रहरी कार्यालय आरुघाटले समेत सपनाको खोजी गर्न थाल्यो।
प्रहरीले गाउँको १०० भन्दा स्थानीयलाई सोछपुछ गर्यो। अन्तमा काठमाडौंबाट आएको एक पुरुषले बालिकालाई लगेको हल्ला फैलियो। त्यसपछि ती पुरुष को भनेर आरुघाट प्रहरीको अनुसन्धान त्यतातिर केन्द्रीत भयो।
अनुसन्धान गर्ने क्रममा प्रहरीलाई गाउँमै पढाउने एक शिक्षकमाथि शंका लाग्यो। ती शिक्षक पहिले नै स्कुल बन्द भएपछि आफ्नो घर दोलखा जान्छु भन्दै एक हप्ताअघि गोरखाबाट हिँडेका थिए।
ती शिक्षक र सपनाबीच राम्रो चिनजान थियो। गाउँघरमा उनीहरुको अनेकथरी कुरा समेत काट्ने गर्थे। तिनै शिक्षकले सपनालाई भगाएको हुनसक्ने परिवारलाई शंका भयो। त्यसपछि प्रहरी ती शिक्षकको खोजीमा लाग्यो।
अनि इलाका प्रहरी कार्यालय आरुघाटले घटनाबारे काठमाडौं प्रहरीलाई समेत खबर गरेको थियो। त्यसपछि काठमाडौं प्रहरीले ती शिक्षकको मोबाइलको लोकेशन पत्ता लगाउन लागिपर्यो।
ती शिक्षक हुन्, दोलखा भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामा। लामाले केही समयदेखि आरुघाटस्थित नेपलिज एडभान्स बोर्डिङ स्कुलमा पढाउँदै आएका थिए। लकडाउन हुने भएपछि लामा काठमाडौं आएर बसे।
केही दिन साथीभाइकोमा गएर बसे। पुतलीसडकस्थित साथीको डेरामा बस्दै आएका लामा १९ गतेपछि गेष्टहाउसमा बस्न थाले। उनी काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित रहेको ढोरपाटन गेस्ट हाउसमा बस्न थाले।
लामाले नै सपनालाई काठमाडौं बोलाएका थिए। सपनालाई गोरखासम्म लिन लामाले काठमाडौंदेखि मोटरसाइकल नै पठाएका थिए। मोटरसाइकलमा गएर लामाको एक साथीले सपनालाई काठमाडौं ल्याएका हुन्।
साथीले सपनालाई लामाले भनेको लोकेशनमा ल्याए। जुन ठाउँ त्यहि गेष्ट हाउस थियो। त्यसपछि केही पैसा दिएर साथीलाई पठाइदिए। जतिबेला साँझको ७ बजेको थियो।
लामाले सपनालाई आज यहिँ बस्ने भन्दै विभिन्न प्रलोभन देखाए। उनी त्यहिँ गेष्ट हाउसमा बस्न राजी भइन्। त्यसपछि जबरजस्ती ड्रिंक्स गर्न लगाए। त्यसपछि नसामा लामाले सपनालाई जबरजस्तीकरणी गरे।
भोलिपल्ट बिहानै उठ्दा सपनालाई थाहा भयो। ‘म बलात्कारको शिकार भएँ।’ त्यसपछि उनी लामासँग रिसाइन्। प्रहरीलाई खबर गरिदिने धम्की दिइन्।
जतीबेलासम्म प्रहरीले लामाको सम्पर्क नम्बरमार्फत लोकेशन पत्ता लगाइसकेको थियो। सपना रिसाएपछि लामा हतार–हतार उठेर गेष्ट हाउसको बिल तिरेर सपनालाई छोडेर भागे।
प्रहरी घटनास्थलमा पुग्दा लामा थिएनन्, सपना एक्लै गेष्टहाउसको कोठामा थिइन्। लगत्तै प्रहरीले उनको उद्दार गरेर चेकजाँचको लागि लग्यो।
फरार लामालाई खोज्न व्यापक मात्रामा प्रहरी परिचलान भयो। अन्ततः महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले भाग्दै गरेको अवस्थामा लामालाई नयाँ बानेश्वरबाट पक्राउ गर्न सफल भयो।
लामाले आफ्नै विद्यार्थीलाई गोरखाबाट काठमाडौं ल्याएर सुन्धाराको होटलमा राखी बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सपनालाई फकाएर काठमाडौं ल्याएको र जबरजस्ती करणी गरेको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए।
१४ वर्षकी सपनालाई जबकी घरबाट मोटरसाइकलमा चढाउँदा पनि लामाका साथीले विभिन्न प्रलोभन देखाएर काठमाडौंसम्म ल्याएका थिए।
निषेधाज्ञाको कारण नागढुंगाबाट त्यति सहजै उपत्यका प्रवेश पाइँदैन्। पहिलानै लामाले सेटिङ मिलाएर उपत्यका छिरेको एसएसपी सिंहले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।